बिर्तामोड । साउन १ गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘गौँथली’ले घरेलु बक्स अफिसमा २३ करोडको आँकडा पार गरेको छ । सोमबार चलचित्र विकास बोर्डले सार्वजनिक गरेको सिनेपाः विवरणमा फिल्मको कमाइ २३ करोड ५५ लाख १२ हजार ५०२ रुपैयाँ ग्रस देखिएको हो ।
यो कमाइ ३१ साउनसम्मको हो । उक्त अवधिसम्म फिल्मका ८ लाख ५५ हजार ७५२ वटा टिकट बिक्री भएका छन् । फिल्मले पछिल्लो ७ दिनमा मात्र ३ करोड ८४ लाखभन्दा बढी कमाएको देखिन्छ । फिल्मको अघिल्लो आइतबार (२४ साउन) सम्मको कमाइ १९ करोड ७१ लाख ६ हजार ५ रुपैयाँ थियो । यसले फिल्मको व्यापारिक रफ्तार अझै आक्रामक रहेको देखाउँछ । फिल्मले ‘टक्सिक’ रिलिजअघि अर्थात् १० भदौसम्म २५ करोडको आँकडा पार गर्ने अनुमान गरिएको छ ।
‘गौँथली’ नेपाली फिल्मको इतिहासमा सर्वाधिक कमाउने दोस्रो फिल्म बनिसकेको छ । यसले ‘कबड्डी ४’को २१ करोड ४० लाखको रेकर्ड तोडेको हो । पहिलो नम्बरमा रहेको ‘पूर्णबहादुरको सारङ्गी’को व्यापारलाई उछिन्न भने ‘गौँथली’लाई अझै २३ करोडभन्दा बढी कमाउनुपर्छ ।
बोर्डले ‘गौँथली’सँगै साउन २२ गतेदेखि प्रदर्शनमा आएका दुई फिल्म ‘हली’ र ‘कमला मिस’को कमाइ विवरण पनि सार्वजनिक गरेको छ । जसअनुसार ‘हली’ले ७ हजार ७१० वटा टिकट बिक्रीबाट २१ लाख ७७ हजार ६० रुपैयाँ ग्रस कमाएको छ भने ‘कमला मिस’ले ७१८ वटा टिकट बिक्रीबाट २ लाख ६१ हजार ८४५ रुपैयाँ ग्रस कलेक्सन गरेको छ ।


