काठमाडौं । रक्षा बन्धनको अवसर पारेर भदौ १२ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘पार्वती’को ट्रेलर बिहीबार सार्वजनिक गरिएको छ । चलचित्र प्रदर्शनको एक साताअघि निर्माण पक्षले काठमाडौंमा एक कार्यक्रमका बीच करिब चार मिनेट लामो ट्रेलर सार्वजनिक गरेको हो ।
सार्वजनिक ट्रेलरले दिदीभाइबीचको आत्मीय सम्बन्धलाई केन्द्रमा राख्दै पारिवारिक प्रेम, सामाजिक सोच र फरक क्षमताका व्यक्तिले समाजमा भोग्नुपर्ने व्यवहारलाई भावनात्मक ढंगले प्रस्तुत गरेको छ । ट्रेलरको मुख्य केन्द्रमा अभिनेत्री तथा निर्देशक नीता ढुंगाना र अशोक दर्जी रहेका छन् ।
चलचित्रमा नीताले अटिजम भएकी ‘पार्वती’को भूमिका निर्वाह गरेकी छन् । अशोकले उनको भाइको चरित्रमा अभिनय गरेका छन् । ट्रेलरमा दिदी र भाइबीचको सम्बन्धसँगै परिवारभित्रको माया, भावनात्मक उतारचढाव र उनीहरूले सामना गर्नुपर्ने सामाजिक चुनौतीलाई प्राथमिकताका साथ देखाइएको छ ।
विशेषगरी अटिजम तथा फरक क्षमता भएका व्यक्तिलाई हेर्ने समाजको दृष्टिकोण, उनीहरूप्रति गरिने व्यवहार र सामाजिक अन्धविश्वासजस्ता विषयलाई चलचित्रले कथाको महत्वपूर्ण हिस्सा बनाएको देखिन्छ । ट्रेलरमा पार्वतीको चरित्रले भोग्ने कठिनाइ र उनको परिवारले सामना गर्ने परिस्थितिलाई भावनात्मक दृश्य तथा संवादमार्फत प्रस्तुत गरिएको छ ।
सन्तानप्रति आमाबुबाको प्रेम र जिम्मेवारीलाई समेत चलचित्रले कथामा समेटेको ट्रेलरमा देखिन्छ । यसले चलचित्र केवल पारिवारिक कथामा सीमित नभई सामाजिक चेतना र संवेदनशील विषयलाई समेत उठाउने देखिन्छ ।
चलचित्र नीता ढुंगानाको निर्देशनमा तयार भएको हो । अभिनयसँगै निर्देशनको जिम्मेवारी रहेको यो चलचित्र उनका लागि विशेष मानिएको छ । फिल्ममा दीपाश्री निरौला, राज पंगेनी शर्मा, सिरु विष्ट, राधिका कँडेल, राजेन्द्र नेपाली, आशा पौडेल, सुवास गजुरेल लगायतका कलाकारहरूको अभिनय रहेको छ ।
चलचित्रलाई ज्योतिष तथा अभिनेता हरिहर अधिकारीले निर्माण गरेका हुन् भने शंकर पाण्डे कार्यकारी निर्माता रहेका छन् । नीता फिल्म्सको प्रस्तुति रहेको चलचित्रको कथा स्वयं नीता ढुंगानाले लेखेकी हुन् । फिल्मको पटकथा तथा संवाद शिवम् अधिकारीले तयार पारेका छन् ।
प्राविधिक पक्षमा सुदीप बरालको छायांकन रहेको छ भने साहिल खानले सम्पादन गरेका छन् । फिल्ममा एलिस कार्की र शिवम् रसाइलीको पार्श्व ध्वनि रहेको छ । रामजी लामिछानेले नृत्य निर्देशन गरेका छन् । चलचित्रका गीत तथा संगीतमा प्रशान्त सिवाकोटी, बाबुल गिरी, सिद्धार्थ सरकार पौडेल र दीपक शर्माको योगदान रहेको छ ।


