Home Main Highlight News ‘पेन्सन पट्टा’को ट्रेलर सार्वजनिक, नाम नमिल्दा भूपू लाहुरेकाे परिवारमा संकट
   

‘पेन्सन पट्टा’को ट्रेलर सार्वजनिक, नाम नमिल्दा भूपू लाहुरेकाे परिवारमा संकट

by Parda Sansar
A+A-
Reset

काठमाडौं । माओत्से गुरुङको लेखन तथा निर्देशनमा तयार भएको चलचित्र ‘पेन्सन पट्टा’को ट्रेलर म‌ंगलबार सार्वजनिक गरिएको छ । काठमाडौं सिटी सेन्टरस्थित बिग मुभिजमा आयोजित कार्यक्रममा कलाकार तथा निर्माण टोलीको उपस्थितिमा ट्रेलर सार्वजनिक गरिएको हो ।

भदौ २६ गतेदेखि प्रदर्शनमा आउने चलचित्रको ट्रेलरले नेपाली समाजमा देखिने तर कमै चर्चा हुने एउटा गम्भीर समस्यालाई केन्द्रमा राखेको देखाएको छ । पेन्सन पट्टामा नाम नमिल्दा उत्पन्न हुने समस्या र त्यसले परिवारमा निम्त्याउने आर्थिक तथा सामाजिक संकट चलचित्रको मुख्य विषय बनेको छ ।

सामान्य कागजी प्रक्रियामा भएको एउटा त्रुटिले परिवारको जीवनमा कति ठूलो प्रभाव पार्न सक्छ भन्ने विषयलाई चलचित्रले उठाएको छ । पेन्सन पट्टा केवल सरकारी कागजात नभई परिवारको जीवनयापनको महत्वपूर्ण आधार बन्न सक्ने अवस्थालाई कथामार्फत प्रस्तुत गरिएको छ ।

ट्रेलरमा अभिनेता दयाहाङ राई र गौमाया गुरुङ मुख्य भूमिकामा देखिएका छन् । उनीहरूका पात्रमार्फत पारिवारिक सम्बन्ध, संघर्ष, प्रेम, त्याग र आत्मसम्मानसँग जोडिएको कथा अघि बढाइएको छ ।

कास्कीको ताङतिङ गाउँ तथा पोखरा आसपासका क्षेत्रमा छायांकन गरिएको चलचित्रमा पशुपति राई, विल्सन विक्रम राई, बुद्धि तामाङ, सुरज तमु, लुनिभा तुलाधर, विश्वास गुरुङ, माया गुरुङ, पुस्कर बहादुर गुरुङ, स्वर्गीय सुनिल थापा, प्रतिक्षा गुरुङ, सोल गुरुङ, मनोज गुरुङ, अनुसा राई र मनिका गुरुङलगायतका कलाकारको अभिनय छ ।

माओत्से गुरुङ फिल्मसको ब्यानरमा निर्माण भएको चलचित्रले स्थानीय परिवेश र पात्रहरूको जीवनशैलीलाई कथासँग जोडेको छ । यसअघि सार्वजनिक टिजर र ‘जुनी जाला’ गीतले दर्शकको ध्यान खिचिसकेको निर्माण पक्षको दाबी छ ।

निर्देशक माओत्से गुरुङले समाजमा भइरहेका तर धेरैपटक पर्दापछाडि रहने विषयलाई चलचित्रमार्फत उठाउने प्रयास गरिएको बताएका छन् । अभिनेता दयाहाङ राईले पनि ‘पेन्सन पट्टा’ अहिलेसम्म पर्याप्त रूपमा नभनिएको सामाजिक कथा भएको बताएका छन् ।

‘पेन्सन पट्टा’ यही भदौ २६ गतेदेखि प्रदर्शनमा आउनेछ ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link