विराटनगर । अमर न्यौपानेको मदन पुरस्कार विजेता कृति ‘सेतो धरती’मा आधारित चर्चित नाटक अब कोशी प्रदेशमा मञ्चन हुने भएको छ। काठमाडौंको कान्तिपुर थिएटरमा १०१औँ शोसम्म सफल मञ्चन भएको नाटक भदौ १२, १३ र १४ गते विराटनगरस्थित आरोहण गुरुकुलमा प्रस्तुत गरिनेछ।
नाटक तीन दिन दैनिक बिहान ९ बजे, दिउँसो १२ बजे र अपराह्न ३ बजे गरी ९ शो मञ्चन हुनेछ। सीमित शो भएकाले अग्रिम टिकट बुकिङ खुला गरिएको छ । टिकटको मूल्य सिटअनुसार ३००, ५००, ७०० र १ हजार रुपैयाँ निर्धारण गरिएको छ। कान्तिपुर थिएटरको वेबसाइटमार्फत इसेवा तथा खल्तीबाट टिकट बुक गर्न सकिनेछ । नाटकको अवधि १ घण्टा ४० मिनेट रहेको छ।
सुन्दर धितालको परिकल्पना तथा निर्देशनमा तयार नाटकमा इलामकी ७ वर्षीया बाल कलाकार एड्रीन धमालाले मुख्य भूमिका निर्वाह गरेकी छन् । अनुप तिमिल्सिनाको संगीत, सागर बीसीको सेट तथा दीपेश गजुरेलको प्रकाश डिजाइन रहेको नाटकमा करिब ३५ कलाकार सहभागी छन्।
नाटकमा गीत विष्ट, सुहाना आचार्य, उमेश सुनाम, सजना थापा, सुष्मिता श्रेष्ठ, बिना रोक्का, अर्नव घिमिरे, विरान दहनी, प्रतीक चौधरी, नितेश लोहार, विकल्प ओली, रविन पुन मगर, अर्जुन राई, एलिना कार्की, विशाल कार्की, प्रयास खत्री, संस्कार चौलागाईं, आराध्या दाहाल, तेजस्वी शर्मा, स्वीकृति पन्त, सुप्रज्ञा शर्मा र बर्षा भण्डारा लगायत कलाकारलाई सेतो धरतीका पात्रहरुका रुपमा देख्न सकिन्छ ।
विराटनगरपछि ‘सेतो धरती’ चितवन र पोखरामा समेत मञ्चन गरिने निर्माण पक्षले जनाएको छ ।


