एजेन्सी । ‘केजीएफ’ स्टार यशको मुख्य भूमिका रहेको बहुप्रतिक्षित फिल्म ‘टक्सिक : अ फेयरी टेल फर ग्रोन-अप्स’ ले बक्स अफिसमा दोस्रो दिनमै तीव्र गिरावट व्यहोरेको छ । पहिलो दिन भारतभर १०१.१० करोडको आक्रामक ओपनिङ गरेको यस फिल्मको कमाइ दोस्रो दिन करिब ६२.८ प्रतिशतले घटेर ३७ करोड ६५ लाख भारुमा सीमित भएको छ।
दुई दिनमा विश्वभरबाट १८५ करोड ६० लाख ग्रस संकलन गरेको फिल्मले सबैभन्दा बढी व्यापार हिन्दी भर्सन (करिब ८० करोड) बाट गरेको छ । यद्यपि, ५०० करोडको विशाल बजेटमा बनेको फिल्मका लागि यो गिरावट चिन्ताजनक मानिएको छ।
गीतू मोहनदास निर्देशित ३ घण्टा १४ मिनेट लामो यो ग्याङस्टर फिल्ममा यशको ‘स्क्रिन प्रेजेन्स’, एक्सन, छायांकन र पार्श्व संगीत उत्कृष्ट भए पनि कमजोर तथा अस्पष्ट कथाका कारण दर्शक र समीक्षक दुवैबाट नकारात्मक प्रतिक्रिया मिलेको छ । चलचित्रमा नयनतारा, कियारा आडवाणी, तारा सुतारिया लगायतको अभिनय रहेको छ ।


