काठमाडौं । शुक्रबारदेखि देशव्यापी प्रदर्शन हुन लागेको फिल्म ‘पार्वती’को पहिलो दिनको कमाइ भोटेकोशी बाढीबाट प्रभावितलाई प्रदान गरिने भएको छ ।
निर्मात्री तथा निर्देशक नीता ढुंगानाले ओपनिङ कमाइ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरिएको बताइन् । नीताले बिहीबार बिहान पनि व्यक्तिगतरुपमा प्रधानमन्त्री कोषमा १ लाख रुपैयाँ जम्मा गरेकी थिइन् ।
‘कर्मले पनि केही गर्नुर्पयो भनेर पहिलो दिन जति कलेक्सन हुन्छ, त्यति रकम सबै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्दैछौं’ नीताले भनिन् ।
‘हामीले यो फिल्म पैसा कमाउनको लागि मात्र बनाएको होइन’ उनले भनिन्, ‘पार्वतीको पहिलो दिनको बक्सअफिस कलेक्सन कोषमा दिने निर्णय गरिएको हो ।’
मिलेसम्म बाढी प्रभावित क्षेत्रमै पुगेर राहत वितरणको योजना पनि रहेको नीताले बताइन् । सामाजिक कथावस्तुमा आधारित ‘पार्वती’मा नीताको शीर्ष भूमिका छ, जहाँ उनले अटिजम भएकी पात्रको भूमिका निर्वाह गरेकी छन् ।
फिल्ममा अशोक दर्जी, दिपाश्री निरौला, राज पंगिनी, सरु विष्ट, आशा पौडेल लगायतको अभिनय रहेको छ । हरिहर अधिकारी निर्माता रहेको चलचित्रमा शिवम अधिकारीको लेखन र सुदीप बरालको छायांकन रहेको छ ।
26


