बिर्तामोड । चलचित्र मास्टर्नीका मुख्य कलाकार प्रियंका कार्की, सिमरन खड्का लगायत टिमले पूर्वका दर्शकसँग भेटघाट गरेका छन् ।
बुधबार बिर्तामोडस्थित पाथिभरा सिने प्लाजाका दर्शकसँग टिमले भेटघाट गरेको थियो । सोही क्रममा अभिनेत्री प्रियंका कार्कीले मास्टर्नीको सिक्वेन्स पनि आउन सक्ने संकेत गरेकी छन् । ‘मास्टर्नीमा एउटा साइडको कथा आएको छ, अर्को साइडको रहस्य खुल्न बाँकी नै छ’, उनले भनिन् ।
‘गौँथली’ चलचित्रबाट चर्चामा आएकी अभिनेत्री सिमरन खड्का भने यस चलचित्रमा ‘अंकिता’को भूमिकामा छिन् । फिल्ममा उनी मास्टर्नीको छोरीको देखिएकी छन् । जनरा फरक भएकोले यो चलचित्रमा काम गर्न रमाइलो भएको उनले अनुभव सुनाइन् ।

त्यसअघि बिर्तामोडस्थित पीके हब र मन्त्र क्लोथ्सको संयुक्त आयोजनामा ‘मिट एन्ड ग्रिट’ कार्यक्रममा कलाकारहरुसहित निर्माता प्रणित कार्की, मिडिया कोअर्डिनेटर मदन रिजालको समेत सहभागिता रहेको थियो । कलाकारहरुलाई पीके हबका तर्फबाट अभिषेक दाहालले स्वागत सम्मान व्यक्त गरेका थिए ।
शुभेन्दु घोषको निर्देशनमा बनेको ‘मास्टर्नी’मा रक्षा थापा, आर्यन सिग्देल, अनुप विक्रम साही, प्रमोद अग्रहरी, ऋचा शर्मा लगायतको अभिनय रहेको छ । आयंका फिल्मसको ब्यानरमा बनेको यो चलचित्र भदौ ५ गतेबाट प्रदर्शनमा आएको हो ।


