काठमाडौँ । चलचित्र ‘पेन्सन पट्टा’को ट्रेलर सार्वजनिक भएपछि यसको कथावस्तुप्रति चासो जनाउँदै भारतीय राजदूतावासस्थित मिलिटरी पेन्सन शाखाले निर्माण टोलीलाई भेटघाटका लागि निम्तो दिएको छ ।
निम्तोपछि चलचित्रको निर्माण टोली त्यही कार्यालयमा पुगेको हो, जहाँ नेपालमा रहेका भारतीय भूतपूर्व सैनिक तथा उनीहरूका परिवारका लागि वास्तविक पेन्सन पट्टा जारी तथा त्यसमा भएका त्रुटि सच्याउने काम हुँदै आएको छ ।
चलचित्रको कथासँग प्रत्यक्ष जोडिएको कार्यालयमै निर्माण टोली पुगेर कर्मचारीहरूसँग अन्तरक्रिया गरेपछि यो भेट चलचित्र क्षेत्रमा समेत चासोको विषय बनेको छ ।
‘पेन्सन पट्टा’को ट्रेलर हेरेपछि कथावस्तुप्रति चासो व्यक्त गर्दै शाखाले निर्माण पक्षलाई भेटका लागि बोलाएको थियो । तर नेपालमा आएको विनाशकारी बाढीका कारण चलचित्रसम्बन्धी प्रचार-प्रसार तथा भेटघाटका कार्यक्रम तत्काल रोकिएकाले निर्धारित समयभन्दा केही ढिला भेट भएको निर्माण पक्षले जनाएको छ ।
भेटघाटका क्रममा शाखाका कर्मचारीहरूले चलचित्र निर्माण भएकोमा निर्माण टोलीलाई बधाई दिँदै सफलताको शुभकामना दिएका थिए । निर्देशक तथा अभिनेता माओत्से गुरुङले भारतीय दूतावासका कर्मचारीहरूले देखाएको आत्मीयताको प्रशंसा गरेका छन् ।
‘मीठो नेपाली भाषा बोल्ने मेजर राहुल झा तथा भारतीय दूतावाससम्बद्ध कर्मचारीज्यूहरूले देखाउनुभएको आत्मीयताप्रति हार्दिक आभार व्यक्त गर्दछौँ,’ गुरुङले भने । भेटका क्रममा आफूले पेन्सनसम्बन्धी केही नयाँ तथ्यसमेत जानकारी पाएको गुरुङले बताए । उनका अनुसार नेपालमा भारतीय सेना तथा असैनिक सेवातर्फका गरी १ लाख १९ हजार ५ सय ४ जनाले पेन्सन प्राप्त गर्दा रहेका छन् । भारत सरकारले वार्षिक करिब ७ हजार १ सय करोड नेपाली रुपैयाँ पेन्सनबापत पठाउने गरेको जानकारी आफूले पाएको उनले बताए ।
यद्यपि, चलचित्रको कथासँग प्रत्यक्ष सम्बन्धित विषयमा शाखाका कर्मचारीहरूसँग भएको कुराकानीबाट के-कस्ता जानकारी प्राप्त भयो भन्नेबारे गुरुङले खुलाउन चाहेनन् । ‘वर्षौंदेखि यही काम गर्नेहरूसँग बसेपछि थाहा हुन्छ, हामीले देखेको त सानो हिस्सा रहेछ,’ उनले भने, ‘बाँकी अहिले भन्दिनँ ।’
चलचित्रको कथामा ‘पेन्सन पट्टा’ कसरी जोडिन्छ, त्यसमा कसको नाम आउँछ र त्यसपछि परिवारमा कस्तो परिस्थिति सिर्जना हुन्छ भन्ने विषयमा निर्माण पक्षले हालसम्म धेरै कुरा सार्वजनिक गरेको छैन । यसबारे गुरुङले दर्शकलाई चलचित्रमै जवाफ खोज्न आग्रह गरे । पेन्सनसम्बन्धी जानकारी तथा सेवाका लागि पेन्सनभोगी र उनीहरूका परिवारले मिलिटरी पेन्सन शाखामा सम्पर्क गर्न सक्ने जनाइएको छ । शाखाले वर्षभरि विभिन्न जिल्लामा पेन्सन शिविरसमेत सञ्चालन गर्दै आएको छ । शाखाको हेल्पलाइन नम्बर ०१-४००१५८३ तथा ह्वाट्सएप नम्बर ९८०८६०४१६० रहेको जनाइएको छ ।
लामो समयको मेहनतपछि तयार भएको चलचित्र ‘पेन्सन पट्टा’ अब प्रदर्शनको अन्तिम तयारीमा छ । चलचित्र भदौ २६ गतेदेखि देशभरका सिनेमा हलमा प्रदर्शनमा आउँदैछ । चलचित्र प्रदर्शनसँगै निर्माण टोलीले पेन्सन शाखामा पुगेर वास्तवमा के जानकारी पायो र ‘पेन्सन पट्टा’को पर्दाभित्रको वास्तविक कथा कस्तो छ भन्ने कौतूहलको जवाफसमेत दर्शकले पाउनेछन् ।


