काठमाडौं । ‘तिनीहरू : एलिफेन्ट्स इन द फग’ले राम्रो सुरुवात गर्दै बक्सअफिसमा राम्रो सम्भावना देखाएको छ । शनिबार दिनभरको वर्षा र रसुवा भोटेकोसी बाढीको अवरोधबीच सिनेमा घरहरूमा दर्शकको उच्च फ्लो देखिएको छ ।
शनिबार काठमाडौंका अधिकांश शोमा उच्च अकुपेन्सी हुँदा एक दर्जनभन्दा धेरै शो हाउसफुल भएका थिए । शुक्रबारबाट प्रदर्शनमा आएको सिनेमाले उत्कृष्ट प्रतिक्रिया पाउँदा शनिबार त्यसको सकारात्मक असर हलमा देखिएको थियो ।
“वर्षा र बाढीको त्रास र प्रभावका बीच पनि हलमा दर्शकको अकुपेन्सी धेरै देखियो । हामी उत्साहित छौ“,” निर्देशक अभिनाश विक्रम शाहले भने । वर्ड अफ माउथ राम्रा पाउँदै जाँदा सिनेमा हलमा दर्शकको संख्या पनि थपिँदै जानेमा उनी ढुक्क छन् ।
कान्सलगायत विश्वका ठूला इन्टरनेसनल फिल्म फेस्टिभलहरूमा पुगेर अवार्ड समेत जितिसकेको अविनाश विक्रम शाहले निर्देशन गरेको चलचित्रमा जंगली हात्तीको आतंकबाट आक्रान्त बस्तीमा बसोबास गर्ने अल्पसंख्यक समुदायको कथा छ ।
चलचित्रमा अभिनेत्री गौरी मल्ल, माओत्से गुरुङ, पुष्पा थिङ लामा, दीपिका यादव, जस्मिन विश्वकर्मा, एलिज घिमिरे, महिमा नवबाग, आकांक्षा कार्कीलगायतको अभिनय छ ।
निर्देशक शाहको नै पटकथा रहेको चलचित्रमा अविनाश विक्रम शाह र सन्दीप बादलको कथा छ । चलचित्र नेपालसहित फन्स, जर्मनी, ब्राजिल र नर्वेका निर्माण संस्थाको सहकार्यमा निर्माण गरिएको हो ।
निर्मातामा नेपालबाट अनुप पौडेल फन्सबाट जस्टिन पेचबर्टी र डेमियन मेघेर्बी, जर्मनीबाट माइकल हेनरिक्स रहेको छन् । सह-निर्मातामा प्रचण्डमान श्रेष्ठ, ब्रजिलबाट तातियाना लेइते, लेओनार्दो मेक्की, पल जिश्लर, भेरोना मेइर स्टोर्म, मार्टिन रेचबक, सुसन्ने मान, कुमुदिनी गुरुङ श्रेष्ठ र सोहम ढकाल रहेका छन् ।
चार्ल्स अडिनेट लाइन प्रोड्यूसर रहेको चलचित्रका एशोसिएट निर्माता नायिका केकी अधिकारी, प्रतीक सुवेदी र प्रतिभा जोशी छन् ।
अन्डरग्राउन्ड टकिज नेपालको तर्फबाट सह-निर्मातामा प्रवेश गुरुङ, एशोसिएट निर्माता आदित्य बस्नेत, अनुज पौड्याल, सन्तोष भट्टराई, बेन्जामिन ग्रुब्स छन् ।


