काठमाडौँ । बलिउड तथा मराठी फिल्मका चर्चित अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन भएको छ। बिहीबार बिहान गोवास्थित डोना पाउलाको आफ्नै निवासमा हृदयाघात भएपछि उनलाई अस्पताल लगिएको थियो। चिकित्सकहरूले करिब ४५ मिनेटसम्म सीपीआर दिएर बचाउने प्रयास गरे पनि उनको ज्यान बच्न सकेन। उनलाई बिहान करिब ५ः२० बजे मृत घोषणा गरिएको थियो। अस्पताल स्रोत र उनका छोरा मल्हार पाटेकरले निधनको पुष्टि गरेका छन्।
रिपोर्टअनुसार नाना राति करिब २ः३० बजे आफू अस्वस्थ भएको भन्दै एक साथीलाई सन्देशसमेत पठाएका थिए। साथी करिब बिहान ४ बजे उनको घर पुग्दा उनी पसिना आएको र सास फेर्न गाह्रो भएको अवस्थामा भेटिएका थिए। त्यसपछि उनलाई तत्काल अस्पताल पुर्याइएको थियो।
निधनपछि उनको मृत्यु प्रकरणमा मेडिको–लिगल केस दर्ता गरी पोस्टमार्टमको प्रक्रिया अघि बढाइएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। महाराष्ट्र सरकारले नाना पाटेकरलाई राजकीय सम्मानसहित अन्त्येष्टि गर्ने घोषणा गरेको छ।
पाँच दशक लामो फिल्म यात्रा
सन् १९५१ जनवरी १ मा महाराष्ट्रमा जन्मिएका नाना पाटेकरको वास्तविक नाम विश्वनाथ पाटेकर थियो। उनले सन् १९७८ मा ‘गमन’बाट फिल्म अभिनय सुरु गरेका थिए। त्यसपछि हिन्दी र मराठी फिल्ममा आफ्नो छुट्टै पहिचान बनाएका उनले गम्भीर, यथार्थपरक तथा जटिल पात्रमा दमदार अभिनयका कारण दर्शक तथा समीक्षकबाट प्रशंसा पाए।
सन् १९८९ मा आएको ‘परिन्दा’मा अन्नाको भूमिका उनका करियरका महत्वपूर्ण मोडमध्ये एक बन्यो। यस फिल्मबाट उनले उत्कृष्ट सहायक अभिनेताको राष्ट्रिय फिल्म पुरस्कार जिते। त्यसपछि ‘क्रान्तिवीर’का लागि उत्कृष्ट अभिनेता तथा ‘अग्निसाक्षी’का लागि उत्कृष्ट सहायक अभिनेताको राष्ट्रिय फिल्म पुरस्कार पाए। यससँगै उनी तीन राष्ट्रिय फिल्म पुरस्कार जित्ने अभिनेताका रूपमा स्थापित भए।
‘प्रहार : द फाइनल अट्याक’, ‘खामोशी : द म्युजिकल’, ‘शक्ति : द पावर’, ‘अब तक छप्पन’, ‘अपहरण’, ‘राजनीति’लगायतका फिल्ममा उनका अभिनय निकै चर्चित रहे। गम्भीर भूमिकाका लागि परिचित नाना हास्य भूमिकामा पनि उत्तिकै लोकप्रिय बने। सन् २००७ को ‘वेलकम’मा उनले निर्वाह गरेको ग्याङ्स्टर उदय शेट्टीको चरित्रले उनलाई नयाँ पुस्तामाझ समेत व्यापक लोकप्रियता दिलायो। ‘वेलकम ब्याक’मा पनि उनले यही भूमिका दोहोर्याएका थिए।
भारतीय सिनेमामा योगदानका लागि उनलाई सन् २०१३ मा भारत सरकारबाट पद्मश्री प्रदान गरिएको थियो। अभिनयसँगै उनी लेखक, निर्देशक तथा रंगमञ्च कलाकारका रूपमा पनि सक्रिय थिए।
सैनिकसँगको विशेष सम्बन्ध
नाना पाटेकरको जीवनको अर्को महत्वपूर्ण पक्ष भारतीय सेनासँगको उनको सम्बन्ध थियो। ‘प्रहार : द फाइनल अट्याक’का लागि उनले मराठा लाइट इन्फेन्ट्रीसँग कठोर सैन्य तालिम लिएका थिए। यही अनुभवका कारण भारतीय सेनाप्रतिको उनको रुचि र सम्बन्ध अझ गहिरिएको थियो।
सन् १९९९ को कारगिल युद्धका क्रममा उनी सैनिकहरूसँगै युद्ध क्षेत्रमा पुगेका थिए। विभिन्न रिपोर्टअनुसार उनले लामो समय सैनिकहरूसँग बिताउँदै द्रास, लेहलगायतका क्षेत्रमा पुगेर उनीहरूको मनोबल बढाएका थिए। त्यस क्रममा उनले क्विक रियाक्सन टिमसँग पनि काम गरेको बताउँदै आएका थिए। कारगिलको कठिन वातावरणका कारण उनको तौलसमेत उल्लेख्य रूपमा घटेको रिपोर्टहरूमा उल्लेख छ।
पर्दाबाहिर पनि समाजसेवामा सक्रिय
नाना पाटेकरको परिचय केवल अभिनेताका रूपमा सीमित थिएन। महाराष्ट्रका किसान तथा ग्रामीण क्षेत्रको समस्याप्रति उनी लामो समयदेखि संवेदनशील थिए। सन् २०१५ मा अभिनेता मकरन्द अनासपुरेसँग मिलेर उनले ‘नाम फाउन्डेसन’ स्थापना गरेका थिए। संस्थाले खडेरी प्रभावित किसान परिवारलाई सहयोग गर्नुका साथै जलस्रोत संरक्षण, नहर तथा पानीका संरचना पुनःस्थापना र ग्रामीण विकासमा काम गर्दै आएको छ।
नाना पछिल्ला वर्षहरूमा पनि किसान, पानीको संकट र ग्रामीण जीवनका विषयमा बोल्दै आएका थिए। फिल्मी लोकप्रियताभन्दा बाहिर उनको सामाजिक कामले पनि उनलाई महाराष्ट्रमा विशेष सम्मान दिलाएको थियो।
निधनको चार दिनअघि मात्रै सार्वजनिक कार्यक्रममा
निधन हुनुभन्दा चार दिनअघि अर्थात् अक्टोबर ४ मा नाना गोवामा आयोजित एक कार्यक्रममा सहभागी भएका थिए। डोना पाउलामा भएको उक्त कार्यक्रममा उनी स्थानीय कलाकारसँग नाच्दै, संगीतमा सहभागी हुँदै र परम्परागत वाद्ययन्त्र बजाउँदै गरेको भिडियो सार्वजनिक भएको छ। त्यसबेला उनी सामान्य र उत्साहित देखिएका थिए। यही कार्यक्रम उनको अन्तिम सार्वजनिक उपस्थितिमध्ये एक बनेको छ।
नानाको निधनसँगै भारतीय फिल्म उद्योगले शक्तिशाली संवाद शैली, गहिरो अभिनय र फरक व्यक्तित्वका एक विशिष्ट कलाकार गुमाएको छ। भारतीय राष्ट्रपति द्रौपदी मुर्मु, प्रधानमन्त्री नरेन्द्र मोदीसहित विभिन्न राजनीतिक तथा फिल्म क्षेत्रका व्यक्तिहरूले उनको निधनमा श्रद्धाञ्जली व्यक्त गरेका छन्।
करिब पाँच दशक लामो अभिनय यात्रामा नाना पाटेकरले गम्भीरदेखि हास्यसम्मका अनेकौँ चरित्रलाई जीवन्त बनाए। उनका चर्चित संवाद, तीव्र अभिनय शैली र सामाजिक प्रतिबद्धताका कारण उनी भारतीय सिनेमामा लामो समयसम्म स्मरणीय रहने कलाकारका रूपमा स्थापित भएका छन्।


