बिर्तामोड । यही शुक्रवार रिलिज हुने नेपाली चलचित्र ‘रिमै’ को दोस्रो गीत ‘छुटिसकेको’ सार्वजनिक भएको छ। गायक थानेश्वर गौतम र गायिका शारदा रसाइली को मर्मस्पर्शी आवाजमा सजिएको यो गीतमा प्रसिद्ध कवि श्रवण मुकारुङ को गहन शब्द रचना रहेको छ। गीतलाई सङ्गीतकार नारायण दङ्गलले सङ्गीत संयोजन गरेका छन् ।
सार्वजनिक भएको म्युजिक भिडियोमा चलचित्रका मुख्य कलाकार दयाहाङ राई र रिश्मा गुरुङ लाई देख्न सकिन्छ। भिडियोले दयाहाङको गहिरो प्रेम र रिश्माको पीडालाई भावपूर्ण रूपमा प्रस्तुत गरेको छ।
गोरखा सिरानचोक एण्ड लिगलिगकोट फिल्म्स र रोटेपिङ इन्टरटेनमेन्टको संयुक्त निर्माणमा बनेको यस चलचित्रमा दयाहाङ र रिश्मासँगै अर्पण थापा, गौमाया गुरुङ, कविता आले मगर, माओत्से गुरुङ, पुस्कर गुरुङ, वीरमाया गुरुङ, बिरबल घले, डिबी गुरुङ लगायतका कलाकारहरूको अभिनय रहेको छ।
कवि तथा निर्देशक उपेन्द्र सुब्बा को पटकथा रहेको यस चलचित्रलाई शैलेन्द्र ध्वज कार्की ले छायाङ्कन गरेका हुन्। गुरुङ समुदायको संस्कृतिलाई केन्द्रमा राखेर बनाइएको ‘रिमै’ ले एक त्रिकोणात्मक प्रेम कथालाई पर्दामा उतारेको छ। यो चलचित्रले नेपाली दर्शकहरूलाई नयाँ स्वाद दिने अपेक्षा गरिएको छ।