झापा । रोशन दासको डेव्यु निर्देशनमा निर्माण भएको सिनेमा ‘प्रतिवैरम्’को एक्सन प्याक टिजर सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएको सिनेमाको टिजरमा १ मिनेट ३० सेकेन्ड लामो मधेस केन्द्रित सामाजिक तथा राजनीतिक कथावस्तु देखाएको छ ।
सिनेमाको सार्वजनिक टिजरले एक्सन र मधेशमा हुने अपराधको झल्को दिन्छ । यो टिजरमा दाइजो प्रथा र दाजु बहिनीको सम्बन्ध पनि देखाउन खोजिएको छ । यी सबै दृश्यहरुले गर्दा सिनेमा राम्रो बनेको अनुमान गर्न सकिन्छ । टिजरमा मुख्य अभिनेता सम्राट दास प्रभावशाली भूमिकामा देखिएका छन् ।
सिनेमामा सम्राटसहित सुप्रज्ञा शर्मा, बिरेन्द्र कुशवाहा, आलिशा बस्तोला, रोन्नी यादव, बिकि शाह, नवीन श्रेष्ठ, गीता श्री, अशिष डीके, प्रदीप ढकाल, नारायण बीके, बिके शाह, रामेश बुढाथोकी लगायतका कलाकारको अभिनय छ । सिनेमाको एक गीतमा अभिनेत्री प्रिंयका कार्की पनि विशेष भूमिकामा देखिनेछिन् ।
रेज इन्टरटेनमेन्टले किङ वाईटीको सहकार्यमा निर्माण गरेको सिनेमाका प्रोडक्सन म्यानेजर कमल सुनार तथा लाइन प्रोडक्सनको जिम्मेवारी पंकज महतोले सम्हालेका छन् । सिनेमाको सह-निर्देशकमा सन्तोष मल्ल, अग्नि सुवेदी, धिरज राउत र श्रीजना भुजेल छन् । सिनेमाको कथा निर्देशक दास स्वयंम् र पटकथा युवराज भट्टराईले लेखेका हुन् । नेपाली, हिन्दी, मैथिली र भोजपुरी भाषामा निर्माण गरिएको सिनेमा ‘प्रतिवैरम्’ आगामी वर्ष २०८३ को जेठ महिनामा प्रदर्शनमा आउनेछ ।



