बिर्तामोड । माघ १६ बाट देशभरका हलमा प्रदर्शन हुन लागेको चलचित्र ‘द ब्ल्यू लाइट’मा बेनिशा हमाल, सृष्टि श्रेष्ठ, अर्पण थापा, महेश त्रिपाठी र आयुशमान देशराज जोशीको भूमिका कस्तो होला भन्ने कौतुहलता दर्शकमा चुलिएको छ ।
फिल्मको टिजर, ट्रेलर र गीतहरुले यो मनोवैज्ञानिक थ्रिलर फिल्म हो भन्ने कुरा त स्पष्ट छँदैछ । तर, कलाकार कस्तो भूमिका होला भन्ने चाहिँ यहाँ खुलेको देखिँदैन ।
चलचित्रको कार्यकारी निर्माता समेत रहेकी बेनिसा हमाल यस फिल्मले दर्शकको मन जित्नेमा ढुक्क रहेको बताउँछिन् । फिल्मको कथा र प्रस्तुतीकरण मन परेर नै निर्माणमा आफू जोडिएको उनले बताइन् ।
अभिनेत्री सृष्टि श्रेष्ठ भने यस फिल्ममा नकारात्मक भूमिकामा देखिएको खुलासा भएको छ । आफ्नो क्यारेक्टर ‘एन्टागोनिस्ट’ रहेको बताउँदै श्रेष्ठले फिल्मको कथा एकदमै गहिरो र फरक रहेको बताइन् । उनले अनुभव शेयर गर्दै नकारात्मक चरित्रमा काम गर्दा निकै जटिल हुने गरेको सुनाइन् ।
कलाकार अपर्ण थापाले भने आफ्नो चरित्र खुलाउन चाहेनन् । यसलाई रहस्यमै राख्न रुचाएका छन् । उनले फिल्मको मेकिङ पक्षको भने खुलेरै प्रशंसा गरेका छन् ।
फिल्ममा अन्य कलाकार सुरक्षा इटानी, ग्रिस्मा कटुवाल, सहारा शर्मालगायत छन् । फिल्मको निर्देशन बलिराम चौहानले गरेका हुन् ।
स्काइफल पिक्चर्सको ब्यानरमा बनेको यसल चलचित्रलाई नरेन्द्र मैनालीले छायांकन गरेका छन् भने आकाश उखेडाले मुख्य सहायक निर्देशकका रुपमा काम गरेका छन् ।



