काठमाडौं । चलचित्र विकास बोर्डअन्तर्गत सञ्चालित ‘चलचित्रकर्मी कल्याणकारी कोष’बाट सातजना चलचित्रकर्मीलाई आर्थिक सहयोग प्रदान गरिएको छ । बोर्डको कार्यालयमा आयोजित कार्यक्रममा नेपाली चलचित्र क्षेत्रमा विभिन्न विधाबाट योगदान र्पुयाएका स्रष्टाहरूलाई सम्मान गर्दै सहयोग रकम हस्तान्तरण गरिएको हो ।
सहयोग प्राप्त गर्नेमा कलाकारहरुमा रोमा विष्ट, क्षितिजा शाक्य, द्वन्द्व कलाकार फडेन्द्रबहादुर विश्वकर्मा, निर्देशक पासाङ तेम्बा शेर्पा, चलचित्र पत्रकार शान्ति प्रिय र निर्माता प्रवीण थापा रहनुभएको छ । यस्तै, दिवंगत वरिष्ठ शृंगारकर्मी स्व.अशोक रोक्काको परिवारलाई पनि आर्थिक सहयोग प्रदान गरिएको छ । स्वास्थ्य सम्बन्धी समस्याले कठिनाइ झेलिरहनुभएका चलचित्रकर्मीलाई साथ दिने उद्देश्यले कोषमार्फत सहयोग उपलब्ध गराइएको बोर्डले जनाएको छ ।
कार्यक्रममा बोर्डका अध्यक्ष दिनेश डीसी, चलचित्रकर्मी कल्याणकारी कोषकी संयोजक तथा वरिष्ठ अभिनेत्री वसुन्धरा भुसाल, कोषका सदस्यहरू मोहन निरौला, नारायण प्रधान, जनकदीप पराजुली र पुष्कर लामाको उपस्थिति थियो । सो अवसरमा अध्यक्ष दिनेश डीसीले चलचित्र विकास बोर्ड नेपाली चलचित्र क्षेत्रका स्रष्टा, कलाकार, प्राविधिक, पत्रकार तथा समग्र चलचित्रकर्मीहरूको सम्मान, सुरक्षा र कल्याणप्रति सदैव प्रतिबद्ध रहेको बताउनुभयो ।
