बिर्तामोड । नेपाली फिल्म क्षेत्रमा नयाँ स्वाद र प्रस्तुति दिने उद्देश्यसहित बनेको एक्सन सिनेमा ‘कुम्भ’को अफिसियल ट्रेलर सोमबार सार्वजनिक गरिएको छ । फिल्म आगामी जेठ १५ गतेबाट देशभर प्रदर्शनमा आउनेछ ।
ए रस प्रोडक्सनको प्रस्तुति र आरएए डिजिटल नेपालको सहकार्यमा बनेको चलचित्र ‘कुम्भ’को ट्रेलरमा सत्ता, शक्ति र षड्यन्त्रका कुरालाई जोड दिइएको छ । एक्सन, रोमान्स र रहस्यको सशक्त मिश्रण रहेको ट्रेलरले दर्शकमाझ फिल्मप्रति उत्सुकता बढाएको छ । ट्रेलरमा अशोक आर्यनलाई एक्स हिटम्यानको रुपमा एक्सन अवतारमा प्रस्तुत गर्दै सुतिरहेको बाघसँग तुलना गरिएको छ । ट्रेलरमा समुद्रबाट हुने व्यापारको कथा देख्न सकिन्छ ।
स्व. सुनिल थापाको अन्तिम सिनेमाको रुपमा रहेको ‘कुम्भ’मा उनलाई नेगेटिभ क्यारेक्टरमै देख्न पाइने भएको छ । उनको ‘युद्धको बेला बुद्धको पुरान काम लाग्दैन’ जस्तो बलियो सम्वादले ट्रेलरलाई थप सशक्त बनाएको छ । फिल्ममा सृष्टि खड्का, रोहित रुम्बा, सुशील पोखरेल, अफ्सना थापा र रोबर्ट सिंह बडाइला, सुरेन्दर ठाकुर लगायतको अभिनय रहेको छ ।
फिल्मको अधिकांश प्राविधिक काम निर्देशक रणधीर श्रेष्ठले गरेका छन् । पटकथा, संवाद, निर्देशन, छायांकन तथा सम्पादन समेत उनी स्वयम् गरेका हुन् । कार्यकारी निर्मातामा ईश्वर बल्लभ उप्रेती रहेका छन् भने निर्माता रणधीर श्रेष्ठ र राजेश शाह हुन् । निर्माण टिमका अनुसार कुम्भलाई नेपाली फिल्मको परम्परागत शैलीभन्दा फरक ढंगले, उच्च प्राविधिक गुणस्तरसहित तयार गरिएको हो ।
फिल्ममा एक्सनको पक्ष सम्राट बस्नेत, प्रदीप खड्का, सञ्जय थापा र कुमार महर्जनले सम्हालेका छन् । फिल्मको टाइटल डिजाइन आनन्द के महर्जनले गरेका छन् भने ब्याकग्राउन्ड स्कोरमा सैलेन्द्र बाबु प्रधान र साउन्ड डिजाइनमा सागर अर्यालको काम रहेको छ । त्यस्तै भिएफएक्समा दिनेश विष्टको काम हेर्न पाइनेछ । फिल्मको देशव्यापी वितरणको जिम्मा श्रीराम बालाजी फिल्मस्ले लिएको छ ।



