काठमाडौं । अभिनेता विजय बराल र अभिनेत्री पूजा शर्माको मुख्य भूमिका रहने सामाजिक चलचित्र ‘रत्यौली’ आगामी फागुन २१ गतेबाट देशभर प्रदर्शनमा आउने भएको छ । राष्ट्रिय धान दिवस तथा दही–चिउरा खाने दिनको अवसर पारेर निर्माता पक्षले चलचित्रको औपचारिक प्रदर्शन मिति घोषणा गरेको हो ।
फागुन २२ गते महाशिवरात्रि पर्वलाई लक्षित गर्दै चलचित्रलाई प्रदर्शन गर्न लागिएको हो । प्रदर्शनको पहिलो साताभित्रै शनिबार, महाशिवरात्रि, नारी दिवस र ग्याल्पो ल्होसार गरी लगातार ४ दिन सार्वजनिक बिदा परेकाले चलचित्रले बक्स अफिसमा बलियो ओपनिङ गर्ने अपेक्षा गरिएको छ ।
सुरज आचार्यको लगानी तथा नाईटिङ्गेल ईन्टरटेन्मेन्ट र पूजा शर्मा प्रोडक्सनको संयुक्त ब्यानरमा निर्माण हुन लागेको यस चलचित्रलाई मुस्कान ढकालले निर्देशन गर्दैछन् । चलचित्र ‘समर लभ’ पछि करिब ७ वर्षको अन्तरालमा ढकालले यसै चलचित्र मार्फत निर्देशनमा पुनरागमन गर्न लागेका हुन् । यो उनको तेस्रो निर्देशकीय चलचित्र हुनेछ ।
मुख्य दुई कलाकार बाहेक अन्य टिम चयनको प्रक्रियामै रहेको र हाल चलचित्रको प्रि–प्रोडक्सनको काम चलिरहेको निर्माण पक्षले जनाएको छ । करण श्रेष्ठको रिच इन्टरटेन्मेन्टले वितरणको जिम्मा लिएको यस चलचित्रको छायांकन आगामी भदौ महिनाबाट सुरु हुने जनाइएको छ ।

