झापा । चलचित्र हलीको निर्माण टिमले पूर्वमा झापाबाट कोशी प्रदेशमा प्रचारप्रसार आरम्भ गरेको छ । सोमबार झापा आइपुगेको टिमले हल्दिबारी-१ स्थित जनजागृति माविका शिक्षक, विद्यार्थी र जनप्रतिनिधिहरुसँग भेटघाट गर्दै चलचित्रको प्रचार आरम्भ गरेको हो ।
विद्यालय प्राङ्गणमा आयोजित कार्यक्रममा चलचित्र निर्माता जस्मिन श्रेष्ठले एउटा किसानको छोरोले पनि समाज र देशका लागि ठूलो योगदान र्पुयाउन सक्छ भन्ने सन्देश फिल्ममा रहेको बताइन् । साउन २२ गतेबाट प्रदर्शनमा आउन लागेको यस फिल्मले छोरीचेलीले भोग्नु परेको छाउपडी प्रथा जस्तो कुसंस्कार र त्यसविरुद्ध एउटा बुबाले गरेको संघर्षको कथा पनि भन्ने उनले जानकारी दिइन् ।

त्यस्तै कार्यक्रममा अग्रज अभिनेता सरोज खनालले आफ्नो फिल्मलाई ५१ दिन, १०१ दिनसम्म झापाले माया दिएको सम्झँदै ‘हली’लाई पनि साथ दिन अनुरोध गरेका छन् । आफू कलाकार बन्न पाएकोमा गर्व गर्दै उनले पेशाको सम्मान हुनुपर्ने सन्देश विद्यार्थीहरुमाझ राखेका थिए ।
हल्दिबारी गाउँपालिका अध्यक्ष रविन्द्र लिङ्देनले कलाकारलाई स्वागत गर्दै नेपाली चलचित्रको उन्नयनमा सबैले साथ दिन आग्रह गरेका छन् । ‘हली’ शब्दको महत्वबारे प्रकाश पार्दै उनले यस्ता संस्कार जोगाउन र कुसंस्कार हटाउन चलचित्रले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताएका छन् ।
हल्दिबारी-१ का वडाध्यक्ष देवीबहादुर थापाले आफू विद्यार्थी छँदा बिहानभरि हलो जोतेर विद्यालय जाने गरेको स्मरण गर्दै नयाँ वर्षमा सरोज खनालका पोस्टकार्डहरु बाँडेको सम्झिए । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक रामबहादुर दाहालले चलचित्रमा दुई नारी जस्मिन श्रेष्ठ र पूजा गुरुङले लगानी रहेकोमा खुशी व्यक्त गर्दै सफलताको शुभकामना व्यक्त गरेका छन् । कार्यक्रमको सञ्चालन झमक तिम्सिनाले गरेका थिए ।
कार्यक्रममा हास्य कलाकार राकेश दर्नालले हँसाएका थिए भने श्रीसा धामीले चलचित्रको गीतमा नृत्य गर्दै माहोललाई रमाइलो बनाएका थिए । ‘हली’का कोशी प्रचारप्रसार संयोजक सुशान्त भण्डारीले झापाको शिवसताक्षी-८ स्थित एन्जर एकेडेमी विद्यालयमा समेत ‘हली’को टिमले भेटघाट कार्यक्रम सम्पन्न गरेको जानकारी दिएका छन् ।
ओम प्रतीकको लेखन तथा निर्देशन रहेको चलचित्र ‘हली’को मुख्य भूमिकामा प्रमोद दीप, सरोज खनाल, अरुणा कार्की, अर्जुन गुरुङ, विद्या कार्की, नवीन श्रेष्ठ, कमल गाउँले, विशाल पहाडी लगायतको अभिनय रहेको छ ।




