Home Main Highlight News इटहरीबाट ‘विगुल’को प्रचारप्रसार शुभारम्भ
 

इटहरीबाट ‘विगुल’को प्रचारप्रसार शुभारम्भ

by Parda Sansar
A+A-
Reset

इटहरी । राजनीतिक बेथिति, नेतृत्वको लडाइँ र युवा पुस्ताको असन्तुष्टिलाई केन्द्रमा राखेर बनेको फिल्म ‘बिगुल’ले कोशी प्रदेशबाट आफ्नो देशव्यापी प्रचार-प्रसार अभियान सुरु गरेको छ । आगामी माघ ९ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्मको टोली प्रचारप्रसारका लागि हाल कोशी प्रदेशको मुख्य केन्द्र इटहरीमा पुगेको हो ।

मंगलबार इटहरीस्थित जेसिस भवनमा आयोजित कार्यक्रममा फिल्मको प्रचार अभियान औपचारिक रूपमा शुभारम्भ गरिएको छ । इटहरी जेसिजको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा जेसिज र जुनियर जेसिजका युवाहरूको उल्लेख्य उपस्थिति रहेको थियो । फिल्मका लेखक तथा निर्माता दिनेश कोइराला र निर्देशक रमेश कोइरालाको टोली कोशी प्रदेशमा ३-४ दिन रहेर प्रचार गर्ने योजना रहेको छ ।

कार्यक्रममा निर्माता दिनेश कोइरालाले पछिल्लो समय देखिएको युवा आक्रोश र राजनीतिक असन्तुष्टिसँग फिल्मको कथा संयोगवश मेल खाएको बताएका छन् । “फिल्मको छायांकन गत बैशाखमै सुरु भएको हो, हालैका आन्दोलनबाट प्रभावित कथा होइन,” उनले स्पष्ट पारे ।

आइतबार सार्वजनिक गरिएको तीन मिनेट लामो ट्रेलरले सत्ताको खिचातानी, पुराना नेताको कुर्सी मोह र पटक-पटक धोका पाएको युवा पुस्ताको पीडालाई उजागर गरेको छ । रमेश कोइरालाको निर्देशनमा बनेको फिल्ममा बेनिशा हमाल, नरेन खड्का, सरोज खनाललगायत कलाकारको अभिनय रहेको छ ।

दिग्गज कलाकारहरू सरोज खनाल, रमेश बुढाथोकी, नीर शाह र हेमन्त बुढाथोकीको अभिनयले फिल्मलाई ओजिलो बनाएको छ । शिव ढकालको छायांकन र तारा थापा ‘किम्भे’ को सम्पादन रहेको फिल्मको पटकथा प्रदिप भारद्वाज र मौनता श्रेष्ठले तयार पारेका हुन् । फिल्ममा मिरा पण्डितले डेब्यु गरेकी छन् भने रविन्द्र खड्का विशेष भूमिकामा रहेका छन् ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link