झापा । शुक्रबारबाट प्रदर्शनमा आएको ‘कुमारी’ ल शुक्रबार उत्साहजनक शो पाएको छ । करिब दुई सय शो सहित प्रदर्शनमा आएको यस फिल्मलाई दर्शकबाट सकारात्मक प्रतिक्रियाहरु मिलिरहेको छ ।
विशेष गरी यस फिल्मले युवालाई आकर्षित गरेको छ । प्रेमकथामा बनेका पछिल्लो फिल्ममा ‘कुमारी’ उत्कृष्ट रहेको दर्शकले बताइरहेका छन् । देशभर उच्च शो पाए पनि पहिलो दिन दर्शकको भने उत्साहजनक उपस्थिति रहेन । विभिन्न स्थानमा युवालाई आकर्षित गर्ने कन्सर्ट, अहिलेसम्मकै ठूला पोस्टर लगाएर प्रचारप्रसार तीव्र पारिए पनि पहिलो दिन भने यस फिल्मलाई दर्शकले खासै साथ दिएकाे देखिएन । खल्ती एपमा मुभी टिकट बुकिङ हेर्दा यस्तो देखिएको हो । अब वर्डअफ माउथ पब्लिसिटीबाटै फिल्मले धेरै दर्शक पाउने आशा गरिएको छ ।
दिनेश राउतद्वारा निर्देशित यस फिल्ममा प्रेम, सङ्घर्ष र पारिवारिक विषयवस्तु रहेको छ । फिल्मबाट अविषेक खड्का र आकृति राजभण्डारीले मुख्य भूमिकामा डेब्यु गरेका छन् । दर्शकले उनीहरुको अभिनयलाई मन पराएका छन् । उनीहरूसँगै पर्दामा घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकांक्षा कार्की, मधु खड्का, सनम श्रेष्ठ, सकु शाह, सरोज लामिछाने र मनषा शर्मा लगायतका कलाकारहरूको अभिनय देख्न सकिन्छ ।
महेन्द्र अधिकारीले निर्माण गरेको यस फिल्मका कार्यकारी निर्माता केदार भुसाल हुन् । विकास सुवेदीको लेखन रहेको ‘कुमारी’मा सुसन प्रजापतिको छायाङ्कन र सुप्रिम पराजुलीको सम्पादन रहेको छ ।


