बिर्तामोड । अभिनेत्री नीता ढुङ्गानाको डेब्यु निर्देशनमा बनेको चलचित्र ‘पार्वती’को पहिलो झलक सार्वजनिक गरिएको छ ।
आगामी भदौ १२ गते रक्षा बन्धनको अवसरमा रिलिज हुने तयारी रहेको फिल्मको दुई पोस्टर सार्वजनिक गरिएको हो । एउटामा अशोक दर्जीले नीता ढुङ्गानालाई पिठ्युँमा बोकेको र दुवैको मुहारमा आशाको भाव देख्न सकिन्छ । अर्को पोस्टरमा कक्षा कोठा र विद्यार्थीको रुपमा नीतालाई फरक लुक्स देख्न सकिन्छ ।
दुवै पोस्टरले यो फिल्ममा फरक क्षमता भएकी ‘पार्वती’को कथा हुन सक्ने झल्को दिएको छ । निता फिल्मस्को ब्यानरमा बनेको चलचित्रको निर्माताका रुपमा हरिहर अधिकारी र कार्यकारी निर्मातामा शंकर पाण्डे रहेका छन् । स्क्रिप्टमा शिवम अधिकारीले काम गरेका छन् भने छायाँकनको जिम्मेवारी सुदीप बरालले लिएका छन् ।
चलचित्रमा अशोक र नीतासँगै दिपाश्री निरौला, राज पंगेनी, सिरु विष्ट, आशा पौडेल, दिप्त प्रकाश अधिकारी, राजेन्द्र नेपाली, राधिका कँडेल, सुवास गजुरेल लगायतको अभियन रहेको छ । फिल्ममा संगीतको पाटोमा प्रशान्त शिवाकोटी, बाबुल गिरी, सिद्धार्थ शंकर पौडेल, दिपक शर्माको योगदान रहेको छ । सम्पादनमा साहिल खान, ब्याकग्राउन्ड स्कोरमा एलिस कार्की र आर्ट डिरेक्टरका रुपमा याङसाङ नुकारुङ रहेका छन् ।



