बिर्तामाेड । चलचित्र ‘कुम्भ’को निर्माण टिम मोफसल केन्द्रित प्रचार अभियानमा जुटेको छ । यसक्रममा सोमबार सप्तरीको राजविराजमा फिल्मको विशेष प्रचारप्रसारात्मक कार्यक्रम सम्पन्न गरिएको छ ।
सप्तरी कलाकार संघ नेपाल मधेश प्रदेशको आयोजनामा राजविराजस्थित आरबी होटल ग्रीन गार्डेनको सभाहलमा आयोजित कार्यक्रममा फिल्मका मुख्य अभिनेता अशोक आर्यन, निर्माण टिम, स्थानीय अतिथि तथा दर्शकहरूको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रममा निर्माण टिमले फिल्मको कथावस्तु, निर्माण प्रक्रिया तथा प्रस्तुतिबारे जानकारी दिँदै नेपाली फिल्मलाई साथ दिन आग्रह गरेको थियो ।
आगामी जेठ १५ गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको ‘कुम्भ’को पोस्टर र टिजर यसअघि सार्वजनिक भइसकेको छ । ए. रस प्रोडक्सन र आरएए डिजिटल नेपालको प्रस्तुतिमा बनेको फिल्ममा रणधिर श्रेष्ठको लेखन तथा निर्देशन रहेको छ । रणधिर श्रेष्ठ र राजेश शाह निर्माता रहेको फिल्ममा ईश्वर बल्लभ उप्रेती कार्यकारी निर्माताको रूपमा रहेका छन् ।
‘कुम्भ’ नेपाली र हिन्दी भाषामा प्रदर्शन गरिने छ। सिनेमाको छायांकन नेपाल र दक्षिण भारतका विभिन्न स्थानमा गरिएको छ । एक्सन र रोमान्सको संयोजन बोकेको ‘कुम्भ’ले नयाँ अनुहार र अनुभवी कलाकारको मिश्रणमार्फत नेपाली सिनेमा बजारमा फरक स्वाद प्रस्तुत गर्ने अपेक्षा गरिएको छ।
‘द रेन अफ पावर’ अर्थात् ‘शक्तिको शासन’ ट्यागलाइन रहेको ‘कुम्भ’ले शक्ति संघर्ष र एक्सनप्रधान कथालाई पर्दामा प्रस्तुत गर्ने निर्माण टिमको दाबी छ । चलचित्रमा अशोक आर्यनसहित सृष्टि खड्का, सुनिल थापा, रोहित रुम्बा, सुशील पोखरेल, रोबर्ट सिंह बडाइला, सुरेन्द्र ठाकुर, अफ्साना थापा, आरजे सापकोटा, मुन्ना सर्राफ लगायतकाे अभिनय रहेकाे छ ।
रिलिज नजिकिँदै जाँदा फिल्म युनिटले देशका अन्य सहरहरूमा समेत प्रचार अभियानलाई थप विस्तार गर्ने तयारी गरेको जनाएको छ ।



