बिर्तामाेड । नेपाली फिल्म क्षेत्रमा कलाकारहरूलाई विभिन्न उपाधि र ट्याग दिने क्रम बढिरहेका बेला अभिनेता विजय बराललाई पनि नयाँ उपाधिसहित प्रस्तुत गरिएको छ । आगामी फिल्म ‘जिरो डिग्री’मा उनलाई ‘नेचुरल स्टार’को ट्याग दिइएको छ । सार्वजनिक गरिएको फिल्मको टिजरमा विजयलाई उक्त ट्यागसहित प्रस्तुत गरिएको देख्न सकिन्छ ।
फिल्म ‘पूर्णबहादुरको सारङ्गी’को सफलतापछि विजयलाई दर्शक र फिल्मकर्मीहरूले ‘नेचुरल स्टार’ भन्न थालेका थिए । अब भने यो उपाधि औपचारिक रूपमा फिल्मको प्रचार सामग्रीमै प्रयोग गरिएको छ ।
सार्वजनिक टिजरमा विजय वडा अध्यक्ष पुन्य चौलागाईँको भूमिकामा देखिएका छन् । गाउँका चलाख र चतुर जनप्रतिनिधिको भूमिकामा देखिएका उनले हास्यव्यङ्ग्य शैलीमा समाजको यथार्थ प्रस्तुत गर्ने संकेत टिजरले दिएको छ ।
टिजरको एक दृश्यमा उनी कार्यालयभित्र घुस लिइरहेको अवस्थामा देखिन्छन् भने अर्को दृश्यमा पिठ्यूँमा दुईवटा पंखा बाँधेर घोडामा सवार छन् । उनको गेटअप र हाउभाउले पात्रलाई थप रोचक बनाएको छ ।
टिजरमा दुर्गम गाउँको अवस्था पनि देखाइएको छ । केही मानिसहरू ठूलो काठको बाकस वरिपरि थकित मुद्रामा देखिन्छन् भने विजय घोडामा सवार छन् । बाकसभित्र के छ भन्ने खुलाइएको छैन । तर सडक अभावका कारण पहाडी भेगका नागरिकले भोग्नुपरेको सास्ती र हुनेखाने वर्गको रवाफलाई फिल्मले व्यङ्ग्यात्मक शैलीमा प्रस्तुत गर्ने अनुमान गर्न सकिन्छ ।
‘बेहुली फ्रम मेघौली’का निर्देशकद्वय साजन काफ्ले र आकाश बरालको संयुक्त निर्देशनमा बनेको फिल्ममा विजय बरालसँगै सनिशा भट्टराई, प्रकाश घिमिरे, बसुन्धरा भुसाल, रमेश बुढाथोकी, लोकेन्द्र लेखक र राजन भुसाललगायत कलाकारहरूको अभिनय रहेको छ ।
फिल्मको कथा तथा पटकथा निर्देशकद्वय साजन काफ्ले र आकाश बरालले नै तयार पारेका हुन् । उनीहरू नै फिल्मका निर्माता पनि हुन् ।
मेघौली फिल्म्सको प्रस्तुतिमा निर्माण भएको फिल्ममा निशाल पौडेलको छायांकन, चानस पुन मगरको सम्पादन, शैलेस श्रेष्ठको साउन्ड डिजाइन, राजेन्द्र मोक्तानको रङ संयोजन तथा अङ्कित बाबु अधिकारीको संगीत रहेको छ । युवराज काफ्लेको शब्द रहेको फिल्म तिहारको अवसरमा प्रदर्शन गर्ने तयारी गरिएको छ । यद्यपि, प्रदर्शन मिति भने अझै तय गरिएको छैन ।



