बिर्तामाेड । नेपाली साङ्गीतिक क्षेत्रमा नयाँ भाव र सामाजिक सन्देश बोकेको गीत ‘मेरो आफ्नै संसार’ सार्वजनिक गरिएको छ । गीतलाइ चर्चित गायक प्रमोद खरेलले गाएका छन् । यस गीतलाइ कीर्तिमानी सङगीतकार सन्तोष श्रेष्ठले सङ्गीत भरेका छन् । गीतले जीवन, परिवार, सम्बन्ध र आफ्नोपनको भावलाई संवेदनशील ढंगले प्रस्तुत गरेको छ ।
सार्वजनिक गीतको भिडियो निर्देशक माधवराज खरेलले तयार गरेका हुन् । भिडियोले पारिवारिक सम्बन्ध, संघर्ष र जीवनका विभिन्न आयामलाई कलात्मक ढंगले प्रस्तुत गरेको छ । भिडियोमा कलाकारहरू दीपेन्द्र सोनम, समिया कार्की, ज्योत्स्ना घिमिरे, रश्मि भट्ट, वसन्तराज रिजाल लगायतको अभिनय छ ।
साथै बाल कलाकार आयुश पाण्डे, मीरु पराजुली, समझ पाण्डे, अमानी पाण्डे र आर्जन पाण्डेको अभिनयले भिडियो अझ जीवन्त बनेको छ । भिडियोको छायांकन अजय रेग्मीले गरेका छन् ।
सामाजिक उत्तरदायित्व, पारिवारिक भावनात्मकता र सांगीतिक मिठासको संयोजन बनेको ‘मेरो आफ्नै सन्सार’ ले नेपाली संगीतप्रेमीमाझ विशेष स्थान बनाउने निर्माण पक्षकाे दावी रहेकाे छ ।



