Home Main Highlight News ‘लालीबजार’ले ८ करोड कमाई गरिरहँदा ‘मितज्यू’ र ‘काजी’ले कति कमाए
 

‘लालीबजार’ले ८ करोड कमाई गरिरहँदा ‘मितज्यू’ र ‘काजी’ले कति कमाए

by Parda Sansar
A+A-
Reset

बिर्तामाेड । फिल्म ‘लालीबजार’को देशब्यापी कमाइ ८ करोड रुपैयाँ ग्रस नाघेको छ । चलचित्र विकास बोर्डको आइतबार मध्यरातसम्मको बक्सअफिस कलेक्सनअनुसार यसको कमाइ ८ करोड १ लाख ९ हजार ६६५ रुपैयाँ ग्रस छ ।

सोही अवधिसम्म फिल्मलाई २ लाख ७६ हजार ९४४ जनाले हेरेका छन् । ५ हजार ५२३ जनाले विविध कारणले टिकट रिफन्ड गरेको समेत बोर्डले उल्लेख गरेको छ ।

शनिबारसम्मको कमाइ ७ करोड ९० लाख ३१ हजार ४६७ रहेको बोर्डले जनाएको छ । सोही अवधिसम्म यम थापा निर्देशित फिल्मलाई २ लाख ६० हजार २०२ जनाले हेरेका छन् ।

मुद्दामामिलाको कारण फिल्मलाई कतिपयले विरोध गरेपनि बक्सअफिसमा भने कमाइमा उत्साह देखिएको हो । ‘वर्ड अफ माउथ’ को यही गति कायम रहे फिल्मले आउने सप्ताहन्तमा अझै उत्कृष्ट ब्यापार गर्न सक्ने देखिन्छ । चौंथो सातामा अहिले प्रदर्शन भैरहेको फिल्मले देशब्यापी १ सय ९२ शो पाइरहेको छ । जुन आफैमा निकै उत्साहजनक हो ।

लगातार ४ दिन परेको बिदाको फाइदा समेत यो फिल्मले उठाएको छ । ती सबै दिन हलमा ९० प्रतिशतभन्दा धेरै अकुपेन्सी देखिएको निर्माता म्याक्स दिपेश खत्रीले बताए । वादी महिलाले सन्तानको पालनपोषण र उचित शिक्षाको लागि गर्ने संघर्षको कथावस्तुमा फिल्म बनेको छ । शीर्ष भूमिकामा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ लगायतले अभिनय गरेका छन् ।

‘मितज्यू’

त्यस्तै टेरिया मगरको डेब्यू फिल्म ‘मितज्यू’ ले घरेलु बक्सअफिसमा सुखद कमाइ गरिरहेकाे छ । प्रदर्शनको नवौं दिन शनिबारसम्म यसको देशब्यापी कमाइ १ करोड २० लाख ५९ हजार ८२ रुपैयाँ ग्रस छ ।

सोही अवधिसम्म यो फिल्मलाई ४१ हजार २४८ जनाले हेरेका छन् । यो फिल्म ८ जेठमा रिलिज भएको थियो ।

‘काजी’

सोही दिनमा रिलिज भएको अर्को फिल्म ‘काजी’को कमाइ भने न्यून देखिएको छ । शनिबारसम्म विपिन कार्की र केकी अधिकारी स्टारर फिल्मले ४० लाख ८८ हजार १७५ रुपैयाँ ग्रस कमाएको छ ।

सोही अवधिसम्म यो फिल्मलाई १३ हजार ७ जनाले हेरेका छन् । चलचित्र विकास बोर्डले सोमबार गतसाताको बक्सअफिस विवरण सार्वजनिक गरेको हो ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link