Home Main Highlight News चलचित्र ‘तीन तिघ्रे क्या बिग्रे’मा चर्चित गायक पशुपति शर्मा मुख्य भूमिकामा अनुबन्धित
 

चलचित्र ‘तीन तिघ्रे क्या बिग्रे’मा चर्चित गायक पशुपति शर्मा मुख्य भूमिकामा अनुबन्धित

by Parda Sansar
A+A-
Reset

बिर्तामाेड । रघुजी फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको चलचित्र ‘तीन तिघ्रे क्या बिग्रे’मा पशुपति शर्मा मुख्य भूमिकामा देखिने भएका हुन्। लेखक तथा निर्देशक अमरदीप सापकोटा र निर्माता रघुनाथ सापकोटा रहेको चलचित्र आगामी असारको दोस्रो सातादेखि छायांकनमा जाने तयारीमा रहेको बताइएको छ।

लोकदोहोरी संगीतमा आफ्नै विशिष्ट पहिचान बनाएका पशुपति शर्मा सामाजिक विषयवस्तु, व्यंग्यात्मक गीत तथा जनजीवनसँग जोडिएका सिर्जनाका कारण लोकप्रिय छन्। यही कारण चलचित्रमा उनको प्रवेशलाई दर्शकले चासोका साथ हेरेका छन्। संगीतमा जस्तै अभिनयमा पनि उनले फरक छाप छोड्न सक्ने अपेक्षा गरिएको छ।

पछिल्ला वर्षहरूमा नेपाली संगीत क्षेत्रका चर्चित व्यक्तित्वहरू चलचित्र क्षेत्रमा सक्रिय हुने क्रम तीव्र बनेको छ। वरिष्ठ संगीतकार तथा गायक शम्भुजीत बास्कोटा चलचित्र निर्माणमा सक्रिय छन् भने लोकप्रिय संगीतकार अर्जुन पोखरेलले पनि चलचित्र निर्माणको यात्रा सुरु गरिसकेका छन्। त्यस्तै गायक तथा सर्जक प्रकाश सपुतले निर्माण र अभिनय दुवै क्षेत्रमा उल्लेखनीय सफलता हासिल गरिरहेका छन्।

वरिष्ठ गायक रामकृष्ण ढकाल चलचित्र ‘मालती मंगले’ निर्माणमार्फत निर्माता बनेका छन् भने लोकगायक युवराज चौलागाईं र यम बराल पनि चलचित्र निर्माणमा सक्रिय छन्। त्यसैगरी गायकद्वय सत्यराज आचार्य र स्वरूपराज आचार्य समेत चलचित्र निर्माणमा जोडिएका छन्। संगीतकार सुवास भुषालले पनि निरन्तर चलचित्र निर्माण गरिरहेका छन्। यसले नेपाली चलचित्र उद्योग र संगीत क्षेत्रबीचको सम्बन्ध झनै बलियो बन्दै गएको संकेत गरेको छ।

एकातिर चलचित्र क्षेत्रले नयाँ अनुहार र नयाँ ऊर्जा खोजिरहेको छ भने अर्कोतर्फ संगीतकर्मीहरूले आफ्नो सिर्जनात्मक यात्रालाई फराकिलो बनाउँदै चलचित्रलाई अभिव्यक्तिको अर्को माध्यमका रूपमा अपनाइरहेका छन्। यही क्रमलाई निरन्तरता दिँदै पशुपति शर्माको चलचित्र प्रवेशलाई नेपाली चलचित्र उद्योगका लागि अर्को रोचक अध्यायका रूपमा हेरिएको छ।

पछिल्लो समय नेपाली चलचित्रमा सीमित कलाकार र उस्तै खालका कथावस्तुको चर्चा भइरहेका बेला जनस्तरमा अत्यधिक लोकप्रिय कलाकारको रूपमा स्थापित पशुपति शर्माको आगमनले दर्शकमाझ नयाँ उत्सुकता र चलचित्र बजारमा नयाँ बहस सिर्जना गर्ने अपेक्षा गरिएको छ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link