बिर्तामाेड । दीपेन्द्र केसीद्वारा निर्देशित तथा निर्मित वृत्तचित्र ‘सन्चलालः सिड्स अफ होप’ को आधिकारिक पोस्टर सार्वजनिक गरिएको छ । देव डी प्रोडक्सनको प्रस्तुतिमा निर्माण भएको यस वृत्तचित्रको पोस्टरले यसको संवेदनशील विषयवस्तु र अन्तर्राष्ट्रिय सफलता झल्काएको छ ।
श्याम–श्वेत शैलीमा डिजाइन गरिएको पोस्टरलाई रोयल भीमसनेले तयार गरेका हुन् । पोस्टरमा विकट ग्रामीण परिवेशमा सन्चलाल र एक बालकको दृश्य समावेश गरिएको छ, जसले वृत्तचित्रको भावनात्मक पक्षलाई उजागर गर्छ ।
वृत्तचित्रले मकवानपुरको मनहरी क्षेत्रको जंगलबीच रहेको एक दुर्गम चेपाङ बस्तीमा बसोबास गर्ने अपाङ्गता भएका व्यक्ति सन्चलालको जीवनकथालाई प्रस्तुत गरेको छ ।
गरिबी, एक्लोपन र अभावका बीच पनि आशा र संघर्षलाई निरन्तरता दिएका सन्चलालको जीवनयात्रा यस वृत्तचित्रको मुख्य विषय हो । निर्देशक केसीले सीमान्तकृत समुदायको यथार्थ र सन्चलालको संघर्षलाई संवेदनशील ढंगले पर्दामा उतार्ने प्रयास गरेका छन् ।
वृत्तचित्रले अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा समेत उल्लेखनीय सफलता हासिल गरेको छ । अष्ट्रेलियामा आयोजित टाइटन इन्टरनेसनल फिल्म फेस्टिभल २०२५ को चौथो संस्करणमा यसले ‘बेस्ट डकुमेन्ट्री अफ द सिजन’ र ‘बेस्ट डकुमेन्ट्री अफ द इयर’ गरी दुई अवार्ड जितेको थियो । साथै, बलिउड एन्ड हलिउड फिल्म फेस्टिभल अष्ट्रेलिया २०२६ का लागि पनि आधिकारिक छनोटमा परेको छ ।
वृत्तचित्रको लेखन दीपेन्द्र केसी र ईश्वर लुइँटेलले संयुक्त गरेका हुन् । अर्जुन सापकोटा र हिमाल शर्माले छायांकन गरेको यस वृत्तचित्रको सम्पादन मदन घिमिरेले गरेका छन् । नेपाली समाजको एक ओझेलमा परेको यथार्थ कथा अन्तर्राष्ट्रिय मञ्चसम्म पुर्याउन सफल भएको यस वृत्तचित्रले दर्शकमाझ पनि सकारात्मक चर्चा बटुल्ने अपेक्षा गरिएको छ ।



