झापा । आगामी साउन २२ गतेबाट रिलिज हुने तयारीमा रहेको चलचित्र ‘हली’को बिहीबार बिर्तामोडमा एक भव्य समारोहका बीच प्रचारप्रसार कार्यक्रम सम्पन्न गरिएको छ ।
कोशी प्रदेशका पूर्वमन्त्री एकराज कार्कीको प्रमुख आतिथ्यता रहेको कार्यक्रम जापुरा फिल्म प्रोडक्सन प्रा.लि.की अध्यक्ष पूजा गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो । प्रमुख अतिथि कार्कीले चलचित्र ‘हली’ले उठाएको विषयवस्तुको प्रशंसा गर्दै नेपाल किसानले बनाएको देश भएकाले आफ्नो कथा सबैले हेर्नु पर्ने धारणा राख्नुभयो । ‘जीवनशैलीसँग जोडिएका, त्यस्ता भावना बोकेका फिल्महरु चलेका छन्, हलीले किसानको मात्रै होइन, छाउपडी प्रथा जस्तो समस्याको पनि उजागर गरेकाले यो फिल्म चल्छ, चल्नुपर्छ भन्ने मलाई लाग्छ’, उहाँले भन्नुभयो ।
कार्यक्रमका मुख्य आकर्षणका रुपमा रहेका अग्रज अभिनेता सरोज खनालले चलचित्र क्षेत्रलाई राज्यले उद्योगको रुपमा नस्वीकार्दा निर्माताहरु मारमा परिरहेको बताउनुभयो । ‘कुनै पनि उद्योगमा जति जनशक्ति लाग्छ, एउटा चलचित्र निर्माण गर्दा त्यसको डब्बल जनशक्ति लाग्छ’, उहाँले भन्नुभयो, ‘ तर राज्यले चलचित्रलाई उद्योगको मान्यता दिएको छैन ।’ राज्यले कलाकारलाई गहनाको रुपमा लिए पनि व्यवहारमा त्यसो नभएको उहाँले गुनासो गर्नुभयो । चलचित्र क्षेत्र धरासायी बन्दा राज्यको तर्फबाट राहत महसुस नभएको उहाँको धारणा छ । झापाले सुरुदेखि नै आफूलाई साथ दिएको प्रसङ्ग सम्झिँदै उहाँले सम्पूर्ण दर्शकलाई ‘हली’ पनि साथ दिन आग्रह गर्नुभयो ।
त्यस्तै, कार्यक्रममा नेपाल चलचित्र निर्माता संघका केन्द्रीय सचिव युवराज गिरीले निर्माताले भोग्दै आएको समस्याका विषयमा धारणा राख्नुभयो । निर्माता बाँचे मात्र फिल्मसँग सम्बन्धित सबै क्षेत्र बाँच्ने बताउँदै उहाँले भन्नुभयो, ‘निर्माता बचाउने भनेको दर्शकको मायाले हो, नेपाली दर्शकले नबचाए नेपाली फिल्मलाई कसले बचाउने ?’
कार्यक्रममा स्वागत मन्तव्य राख्दै चलचित्र ‘हली’ कि निर्माता जस्मिन श्रेष्ठले लोप हुँदै गएको ‘हली’ शब्द र संस्कार जोगाउँदै छाउपडी जस्तो कुप्रथाविरुद्ध सचेतना जगाउने उद्देश्यले चलचित्र निर्माण भएको बताउनुभयो । एउटा हलीले पनि समाज परिवर्तन गर्न सक्छ भन्ने सन्देश यस फिल्ममा रहेको उहाँले जानकारी गराउनुभयो ।
कार्यक्रममा मेचीनगर नगरपालिका उपप्रमुख मीना पोखरेल उप्रेती, नेपाल पत्रकार महासंघ झापा उपाध्यक्ष सुब्रत न्यौपाने लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो । चलचित्र पत्रकार संघ नेपाल झापा शाखाको संयोजनमा सम्पन्न भएको कार्यक्रममा स्वागत नृत्य सन्दीपा नेम्वाङ र फिल्मको गीतमा श्रीसा धामीले सुन्दर नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा प्रदेश सभा सदस्य राधाकृष्ण खनाल, शिवसताक्षी नगर उपप्रमुख नरमाया कार्की, शिक्षा अधिकृत छवि ढकाल, बिर्तामोड नगर शिक्षा अधिकृत तिलचन भण्डारी, चलचित्र पत्रकार संघ नेपालका कोशी प्रदेश उपाध्यक्ष रमेश तिवारी, नेपाल फिल्म सोसाइटी कोशी प्रदेश अध्यक्ष देवीझश्रेष्ठ, नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल्स एजेन्ट्स महासचिव नवीन खरेललगायत विभिन्न सामाजिक तथा सञ्चार संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
‘हली’ चलचित्रका कोशी प्रचारप्रसार संयोजक सुशान्त भण्डारी र चलचित्र पत्रकार संघ झापाका अध्यक्ष एकराज प्रधानको संयोजनकारी भूमिकामा सम्पन्न कार्यक्रमको सञ्चालन संघकी उपाध्यक्ष सुनिता तामाङले गर्नुभएको थियो ।
ओम प्रतीकको लेखन तथा निर्देशन रहेको चलचित्र ‘हली’को मुख्य भूमिकामा प्रमोद दीप, सरोज खनाल, अरुणा कार्की, अर्जुन गुरुङ, विद्या कार्की, नवीन श्रेष्ठ, कमल गाउँले, विशाल पहाडी लगायतको अभिनय रहेको छ ।


