काठमाडौं । प्रेमकथामा आधारित नेपाली चलचित्र ‘लज्जावती’ यही साउन २९ गतेदेखि देशभर प्रदर्शनमा आउँदैछ । चलचित्रको प्रदर्शन मिति नजिकिएसँगै निर्माण टिम प्रचारप्रसारमा व्यस्त रहेको छ ।
निर्देशक राजबहादुर सानेले निर्देशन गरेको चलचित्रमा प्रेम सम्बन्धमा आउने उतारचढाव, संघर्ष र भावनात्मक पक्षलाई कथाको मुख्य विषय बनाइएको छ ।
‘पाठशाला’, ‘वृन्दावन’, ‘बिरंगना’, ‘सिटामोल’, ‘सिल्ली फो’ लगायत सामाजिक कथाका चलचित्र निर्देशन गरिसकेका सानेले यसपटक नयाँ कलाकार र नयाँ टिममार्फत प्रेमकथालाई प्रस्तुत गरेका छन् । उनका अनुसार चलचित्रको कथामा मुकुन भुसाल, श्रीकृष्ण निरौला, जानुका विश्वकर्मा र मेनुका माझीका पात्र वरिपरि केन्द्रित रहनेछ ।
चलचित्रमा मुकुन भुसाल इ-रिक्सा चालकको भूमिकामा छन् भने श्रीकृष्ण निरौला प्रेममा परेको युवाको चरित्रमा देखिएका छन् । जानुकालाई चिया पसल चलाउँदै गरेको र मेनुकालाई नर्सको चरित्रमा रहेको देखिन्छ । विनोद श्रेष्ठ, केशव रिजाल, धीरेन शाक्य, हिउँवाला गौतम, विशाल पहारीलगायत कलाकारको पनि अभिनय रहेको छ ।
श्रीकृष्णले भने चलचित्रले दर्शकलाई साँचो प्रेमको अर्थ बुझाउने विश्वास व्यक्त गरेका छन् । आहा फिल्म्सको प्रस्तुतिमा बनेको चलचित्रमा करिब दुई करोड रुपैयाँ लगानी भएको निर्माण पक्षले जनाएको छ । कमलप्रसाद शर्मा र सन्दीप कुमार रोकाया निर्माता रहेको चलचित्रलाई कुबेर सिने डिस्ट्रिब्युसनले वितरण गर्दैछ ।


