काठमाडौं । रेखा थापाको निर्देशनमा तयार भएको आगामी फिल्म ‘माया भनेकै यस्तो होला’को मर्मस्पर्शी तथा प्रेमिल टिजर सार्वजनिक गरिएको छ। फिल्मको प्रदर्शन मिति नजिकिँदै गर्दा सार्वजनिक टिजरले कथावस्तु र प्रमुख पात्रहरूको सम्बन्धबारे संक्षिप्त झलक प्रस्तुत गरेको छ।
टिजरमा एक पुरुष पात्रको तीन महिला पात्रसँगको प्रेम, विवाहपछिको सम्बन्ध, आपसी अपेक्षा, जटिलता र द्वन्द्वलाई केन्द्रमा राखिएको देखिन्छ। प्रेम र विवाहलाई फरक–फरक पात्रको दृष्टिकोणबाट हेर्दै निर्देशक थापाले सम्बन्धभित्रका भावना र उतारचढावलाई दृश्यभाषामार्फत प्रस्तुत गरेकी छन्।
रोमान्टिक तथा पारिवारिक कथावस्तुमा निर्माण भएको फिल्मले माया, विवाह, सम्बन्ध र त्यसको अर्थलाई नयाँ कोणबाट प्रस्तुत गर्ने संकेत टिजरले दिएको छ।
फिल्ममा नीति शाह, सृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठ र दिल श्रेष्ठको शीर्ष भूमिका रहेको छ। फिल्मका तीन प्रमुख अभिनेत्री नीति, सृष्टि र नम्रता सौन्दर्य प्रतियोगिताका विजेता हुन्। सृष्टि र नम्रताले मिस नेपाल वर्ल्ड तथा नीतिले मिस नेपाल इन्टरनेसनलको उपाधि जितेका थिए। निर्देशक रेखा थापा स्वयं सन् १९९९ की मिस नेपाल फाइनलिस्ट हुन्।
हरिनारायण श्रेष्ठ, मायादेवी श्रेष्ठ र प्रकाश श्रेष्ठको निर्माण रहेको फिल्ममा नवराज श्रेष्ठ कार्यकारी निर्माताका रूपमा छन्। दिया एन्ड अमु फिल्म्सको प्रस्तुतिमा निर्माण भएको ‘माया भनेकै यस्तो होला’ तीजको अवसरलाई लक्षित गर्दै भदौ २६ गतेदेखि देशभर प्रदर्शनमा आउनेछ।


