इटहरी | सौन्दर्य पेसामा आबद्ध महिलाहरूको प्रतिभा, सीप र आत्मविश्वास अभिवृद्धि गर्ने उद्देश्यका साथ आयोजित ‘द फेस अफ ब्युटिसियन’ पहिलो संस्करणको दोस्रो अडिसन इटहरीमा सम्पन्न भएको छ।
कुजु मोटर्सको आयोजना तथा सुजुकी मोटरसाइकल इटहरीको सहकार्यमा सोमबार इटहरीस्थित ‘आरोमा बाई ओसियन रेस्टुरेन्ट’मा अडिसन सम्पन्न भएको हो। कोशी प्रदेशमै पहिलो पटक सुरु भएको यस प्रतियोगितामा इटहरी, दुहबी र भोजपुर लगायतका क्षेत्रबाट १५ जना ब्युटिसियन महिलाहरूको सहभागिता रहेको थियो। समावेशितालाई प्राथमिकता दिँदै प्रतियोगितामा कुनै उमेर हदबन्दी नराखिएको र विवाहित तथा अविवाहित दुवै महिलाहरूलाई प्रतिस्पर्धा गर्ने अवसर प्रदान गरिएको छ।
सहभागीहरूको कला र क्षमता मूल्याङ्कनका लागि नेपाल चलचित्रकर्मी महासंघ कोशी प्रदेशका महासचिव दिनेश कोइराला, ममता किन्डरगार्टेनकी संस्थापक विनिता ढकाल तथा सिनियर ब्युटी ट्रेनर मीना श्रेष्ठ राई निर्णायक मण्डलमा रहेका थिए।
कार्यक्रम निर्देशक उर्मी मगरका अनुसार छनोट भएका प्रतिस्पर्धीहरूलाई छिट्टै विशेष प्रशिक्षण सत्रमा सहभागी गराइनेछ। प्रतियोगीहरूलाई सौन्दर्य विज्ञहरूबाट एश कलर, वाटरप्रुफ मेकअप, हेयरकट तालिमसहित सैलुन व्यवसाय प्रवर्द्धनका लागि ‘बिजनेस ग्रोथ क्लास’ र व्यक्तित्व विकासका कक्षाहरू प्रदान गरिनेछ ।
प्रतियोगिताको विजेताले ताज र ट्रफीसहित १ लाख रुपैयाँभन्दा बढी मूल्य बराबरको पुरस्कार, मिडिया कभरेज तथा प्रतिष्ठित ब्रान्डहरूसँग सहकार्यको अवसर पाउने आयोजकले जनाएको छ।



