बिर्तामाेड । देशब्यापी रुपमा प्रदर्शन भैरहेको चलचित्र ‘काजी’काे असारे गीत सार्वजनिक गरेको छ । प्रशान्त सिवाकोटीको शब्द तथा संगीत निर्देशनमा तयार पारिएको असारे भाका ‘ज्यानको तिर्खा’ मा रचना रिमाल र संगीतकार सिवाकोटीको स्वर रहेकाे छ ।
सार्वजनिक गीतको भिडियोमा कलाकार विपिन कार्की, केकी अधिकारी, गरिमा शर्मा, सन्दीपबाबु लोहनीलगायत कलाकारलाई देख्न सकिन्छ । रोपाइँको सेटअपमा तयार पारिएको गीतको भिडियोमा कविराज गहतराजको कोरियोग्राफी हेर्न सकिन्छ ।
शुक्रबारदेखि प्रदर्शनमा आएको यो फिल्मले दर्शकबाट उत्कृष्ट प्रतिक्रिया पाइरहेको छ । अभिनेता कार्की पनि अहिले फिल्मको प्रचार गर्दै दर्शकलाई भेट्न हल भिजिटमा ब्यस्त छन् ।
उनलाई हलमा भेट्ने धेरै दर्शकले ‘काजी २’ चाहियो भन्ने माग गरिरहँदा उनी उत्साहित हुँदै तपाईंको माया र साथ मिले पक्कै सिक्वेल बन्ने जवाफ दिने गर्छन् ।
यो फिल्म रिजाल एन्ड रिजाल प्रोडक्सनको ब्यानरमा निर्माण भएको हो । रामप्रसाद रिजालको प्रस्तुतिमा निर्माण भएको फिल्मले ग्रामीण परिवेशको भावनात्मक कथा र सम्बन्धको संवेदनशील पक्षलाई पर्दामा उतारेको निर्माण टिम बताउँछ । निर्मातामा नेहान रिजाल, विकासराज जोशी रहेका छन् ।



