काठमाडौँ । उडान स्टुडियोको प्रस्तुति रहने कथानक फिल्म ‘आशा’ को छायांकन बिहीबारदेखि औपचारिक रूपमा सुरु भएको छ। निर्माण टिमले पहिलो चरणको छायांकन काठमाडौं उपत्यकाबाट थालेको हो।
निर्मात्री शर्मिला थापाका अनुसार केही दिन उपत्यकाका विभिन्न स्थानमा छायांकन गरिनेछ भने त्यसपछि काभ्रेको नमोबुद्ध र धुलिखेल आसपासका रमणीय क्षेत्रहरूमा बाँकी दृश्य खिचिनेछन्।
निर्मात्री थापाले पूर्वनिर्धारित तालिकाअनुसार नै छायांकन अघि बढाइएको बताउँदै साउन महिनाभित्र सम्पूर्ण छायांकन सम्पन्न गर्ने लक्ष्य रहेको जानकारी दिइन्। उनका अनुसार नेपाली परिवेश र संस्कृतिलाई केन्द्रमा राखिएको कथालाई आधुनिक प्रविधिको प्रयोगसहित उत्कृष्ट ढंगले पर्दामा उतार्ने तयारी गरिएको छ।
छायांकनको पहिलो दिन अभिनेता सुशांक मैनालीसँगै बालकलाकार चिराग श्रेष्ठ र काश्वी भण्डारीले अभिनय गरेका थिए। फिल्ममा महेश त्रिपाठी, अन्जना बराइली, सुशील सिटौला, आशान्त शर्मा, केनिपा सिंह तथा कविता रेग्मीको पनि महत्वपूर्ण अभिनय रहनेछ ।
फिल्मको निर्देशन राजीव गुरुङले गरेका हुन्। उनले निर्देशनसँगै पटकथा पनि तयार पारेका छन्। उनका अनुसार ‘आशा’ केवल मनोरञ्जनमा सीमित नभई समाजलाई सकारात्मक सन्देश दिने उद्देश्यका साथ निर्माण भइरहेको फिल्म हो।
फिल्मको सह–लेखन रामकुमार श्रेष्ठले गरेका छन्। प्राविधिक टोलीमा स्क्रिप्ट सुपरभाइजर तथा कास्टिङ निर्देशक सुदाम सिके, छायांकार नरेन्द्र मैनाली, संगीतकार युग भुसाल र समीर खरेल, साउन्ड डिजाइनर किशोर आचार्य, सम्पादक लोकेश बज्राचार्य तथा मेकअप एन्ड हेयर आर्टिस्ट सोनाली शिल्पकार रहेका छन्।

