झापा । नेपाली चलचित्र जगतमा व्यावसायिक रूपमा सफल मानिएको चलचित्र ‘छ माया छपक्कै’ को दोस्रो शृङ्खला निर्माण हुने पक्का भएको छ। वि.सं. २०७६ सालमा दर्शकको मन जित्न सफल यस चलचित्रको सिक्वेललाई आगामी वर्षको वडा दसैँमा प्रदर्शन गर्ने लक्ष्यका साथ निर्माण प्रक्रिया अगाडि बढाइएको हो।
मुख्य भूमिकामा अभिनेता दीपकराज गिरी नै देखिनेछन्। चलचित्रको दोस्रो शृङ्खलामा पनि पुरानै ‘टिम’ लाई निरन्तरता दिइने भएको छ। दीपेन्द्र लामाले नै निर्देशन गर्ने यस चलचित्रमा रोहित अधिकारीको लगानी रहनेछ। मुख्य कलाकारहरूको सूचीमा दीपकराज गिरीका साथै केकी अधिकारी, केदार घिमिरे र जितु नेपालको अभिनय रहने पक्का भएको छ।
हालै मात्र निर्माता रोहित अधिकारी, कलाकार दीपकराज गिरी, दीपाश्री निरौला र निर्देशक लामासहितको टोलीले बागलुङ कालिका मन्दिरको दर्शन गरी फर्किएका छन्। सामाजिक सञ्जालमा सार्वजनिक भएका उनीहरूका तस्बिर र गतिविधिले पनि चलचित्र निर्माणको तयारी अन्तिम चरणमा पुगेको सङ्केत गरेका हुन्।

