मुम्बई । दक्षिण भारतीय सुपरस्टार यश विहिबार जन्मदिन मनाउँदैछन् । यस अवसरमा उनको आगामी प्रतीक्षित फिल्म ‘टक्सिक’ को एक्सनप्रधान टिजर युट्युबमा रिलिज भएको छ ।
२ मिनेट ५१ सेकेन्डको टिजर धमाकेदार र स्टाइलिस देखिन्छ । तपाईं यश र उनका एक्सन फिल्मको प्रशंसक हुनुहुन्छ भने, पक्कै पनि ‘टक्सिक’ तपाईंको वाचलिस्टमा समावेश हुनसक्छ ।
टिजर हलिउड स्टाइलको देखिन्छ । यशको लुक्स खतरनाक देखिन्छ । टिजरको अन्त्यमा उनी देखा परे पनि, यो फिल्म ब्लकबस्टर हुने कुरा स्पष्ट छ । ‘केजीएफ २’ पछि यश यो फिल्ममार्फत फर्किन लागेका हुन् ।
गितु मोहनदास निर्देशित यो फिल्म ग्याङस्टर–एक्सन थ्रीलर हो । सन् १९४० देखि १९७० को दशकको समयरेखामा गोवामा सेट गरिएको यसको कथा त्यहाँको जीवन्त सांस्कृतिक अनुहार पछाडि लुकेको शक्तिशाली लागूऔषध कार्टेलको वरिपरि घुम्छ ।
फिल्ममा यशले राय, नयनताराले गंगा, कायरा आडवाणीले नादिया, हुमा कुरेशीले एलिजाबेथ, तारा सुतरियाले रेबिका र रुक्मिणी वसन्तले मेलिसा नामक पात्रको भूमिका निर्वाह गरेका छन् ।
हलिउडको चर्चित एक्सन फिल्म ‘जोन विक’ का एक्सन कोरियोग्राफर जेजे पेरीले यो फिल्मको एक्सन कोरियोग्राफी गरेका हुन् । ‘इन्सेप्सन’ र ‘ड्यून’ जस्ता चर्चित फिल्ममा भीएफएक्स गरेको हलिउड कम्पनी डीएनइजीले यसमा भीएफएक्स गरेको हो ।
केभीएन प्रोडक्सन र मोन्स्टर माइन्ड क्रिएसन्सको ब्यानरमा वेंकट के नारायण र यशद्वारा निर्मित ‘टक्सिक’ मार्च १९, २०२६ (५ चैत, विहीबार) रिलिज हुनेछ ।

