Home Main Highlight News दिनेश सिटाैला सम्बन्धी भ्रामक समाचारप्रति चलचित्र पत्रकार संघ नेपालको आपत्ति
   

दिनेश सिटाैला सम्बन्धी भ्रामक समाचारप्रति चलचित्र पत्रकार संघ नेपालको आपत्ति

by Parda Sansar
A+A-
Reset

काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निर्वतमान अध्यक्ष तथा संघका सल्लाहकार, वरिष्ठ चलचित्र पत्रकार दिने‍श सिटौलाको स्वास्थ्य उपचारको विषयलाई लिएर विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आधारहीन, भ्रामक तथा मिथ्या सूचनाहरू फैलिरहेको भन्दै संघले गम्भीर आपत्ति जनाएको छ ।

संघका अध्यक्ष समीर बलामीद्वारा शनिवार राति जारी गरिएको विज्ञप्तिमा इमानदार, अनुशासित तथा सरल स्वभावका पत्रकारका रूपमा परिचित सिटौला आजसम्म कुनै पनि व्यक्तिगत वा व्यावसायिक विवादमा नरहेको तथा चलचित्र पत्रकारितामा करिब दुई दशकदेखि निरन्तर योगदान दिँदै आएको उल्लेख गरिएको छ ।

विज्ञप्तिअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेनप्रति शुभेच्छा प्रकट गर्न साथीहरूसँग अछाम यात्रा गरिरहेका क्रममा दिने‍श सिटौला एक्कासि ढलेर बेहोस भएपछि तत्काल स्थानीय अस्पतालमा आकस्मिक उपचार गरिएको थियो । त्यसपछि नेपाली सेनाको विमानमार्फत काठमाडौं ल्याई ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा थप उपचार भइरहेको छ । उपचारमा संलग्न चिकित्सकहरूका अनुसार सिटौलालाई मस्तिष्कघातका कारण स्वास्थ्य समस्या देखिएको हो । हाल उहाँलाई भेन्टिलेटरमा राखी निरन्तर निगरानीमा उपचार भइरहेको संघले जनाएको छ ।

यसै सन्दर्भलाई लिएर विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा तथ्यविहीन, अस्पष्ट र भ्रामक समाचार तथा टिप्पणीहरू सार्वजनिक भइरहेकोप्रति संघले गहिरो चिन्ता व्यक्त गरेको छ । अस्पतालको आधिकारिक जानकारी नआएसम्म कुनै पनि किसिमका अड्कलबाजी, अफवाह तथा आधारहीन समाचार प्रकाशन-प्रसारण नगर्न चलचित्र पत्रकार संघ नेपालले सबै सञ्चार माध्यम, पत्रकार तथा सामाजिक सञ्जाल प्रयोगकर्ताहरूलाई हार्दिक अपील गरेको छ ।

संघका अध्यक्ष बलामीले विज्ञप्तिमार्फत आफ्ना निर्वतमान अध्यक्ष तथा सल्लाहकार दिने‍श सिटौलाको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै सबैलाई संयम, जिम्मेवारी र पत्रकारिताको आचारसंहिताको पालना गर्न पुन: आग्रह गरेका छन् ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link