काठमाडौँ । ब्लकबस्टर एक्सन फिल्म ‘१२ गाउँ’को सिक्वेल ‘१२ गाउँ २’को शुभमुहूर्त भएको छ ।
अभिनेता विराज भट्टको निर्देशनमा बन्ने यस चलचित्रको सुटिङ बुधबार एउटा गीतको छायांकनसँगै सुरु गरिएको हो । निर्माण पक्षले यस एक्सन-प्याक चलचित्रलाई आगामी दसैँको फूलपातीमा रिलिज गर्ने लक्ष्य लिएको छ ।
काठमाडौं, सिन्धुपाल्चोक, चितवन लगायतका विभिन्न रमणीय स्थानहरूमा खिचिने यस चलचित्रमा स्टारकास्टको लाइनअप बलियो रहेको छ । पर्दामा विराज भट्ट र समिर भट्टको एक्सन अवतारका साथै अनुप विक्रम शाही, कृशु ‘काफिया’ शाही, वर्षा इटानी, खुशी कार्की, प्रकाश शाह र सुनिल पोखरेल लगायतका कलाकारहरूको दमदार अभिनय देख्न पाइनेछ । यसका अतिरिक्त कनिज कोइराला, कालु राना, पुष्कर भट्ट, शिवकुमार सिंह, साहित सिंह ठकुरी र पूर्णबहादुर गन्धर्वले पनि चलचित्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछन् ।
प्राविधिक रूपमा पनि चलचित्रलाई निकै अब्बल र उत्कृष्ट बनाउने प्रयास निर्माण टोलीको छ । सन्तोष सरकारको कथा तथा पटकथा रहेको ‘१२ गाउँ २’लाई दृश्यमा उतार्ने जिम्मेवारी महेश पौडेलले लिएका छन् ।
चलचित्रको द्वन्द्व निर्देशन इस्टनर सिल्वा र शंकर महर्जनले संयुक्त रूपमा गर्ने भएका छन् । त्यसैगरी, सियोन श्रेष्ठको कोरियोग्राफी रहने यस चलचित्रमा युग भुसाल, देवेन्द्र बराल र डीपी खनालले संगीत भरेका छन् । सुगम पोखरेल, समीक्षा अधिकारी, प्रेरणा सिंह, किरण भुजेल र निशान भट्टराई जस्ता चर्चित गायक-गायिकालाई सुन्न पाइने भएको छ । चलचित्रको पार्श्व संगीत कालाचरण र गीता गुरप्पाले तयार पार्नेछन् ।
यस चलचित्रलाई काठमाडौं उपत्यकाभित्र काफिया फिल्म्स प्रालि र उपत्यकाबाहिर कुबेर फिल्म्सले वितरण गर्ने जिम्मा पाएका छन् ।



