बिर्तामाेड । नेपाली चलचित्र ‘कुम्भ’को दाेस्राे रोमान्टिक गीत ‘स्पर्श’ सार्वजनिक गरिएको छ। आरएए डिजीटल नेपालमार्फत सार्वजनिक गरिएको गीतमा अभिनेता अशाेक आर्यन र अभिनेत्री सृष्टि खड्काको आकर्षक रोमान्टिक केमेस्ट्री देख्न सकिन्छ।
यस गितमा गायक मनिस शाहीको स्वर रहेको छ । गीत सार्वजनिक भएसँगै दर्शकले सकारात्मक प्रतिक्रिया दिन थालेका छन्। भिडियोमा सुन्दर दृश्य, भावनात्मक प्रस्तुति र कलाकारहरूको अभिनयले गीतलाई अझ विशेष बनाएको छ।
चलचित्र ‘कुम्भ’का यसअघि सार्वजनिक गीतले पनि चर्चा बटुलेकाे थियाे भने यस गीतले फिल्मप्रतिको उत्साह थप बढाएको निर्माण पक्षले जनाएको छ।
एक्सन–ड्रामामा आधारित चलचित्र ‘कुम्भ’मा अशोक आर्यन यादवसँगै सुनिल थापा, सुशील पोखरेल, रोहित रुम्बा, सृष्टि खड्का, अफ्सना थापा लगायत कलाकारहरूको अभिनय रहेको छ। दक्षिण भारतीय अभिनेता सुरेन्द्र ठाकुरको समेत विशेष भूमिका रहेको फिल्मका लेखक तथा निर्देशक रणधीर श्रेष्ठ हुन्। उनले फिल्मका गीतका शब्दसमेत लेखेका छन्।
एक्सन, रोमान्स र नयाँ स्वादको मिश्रण बोकेको चलचित्र ‘कुम्भ’ले नयाँ अनुहार र अनुभवी कलाकारको संयोजनमार्फत नेपाली चलचित्र बजारमा फरक पहिचान बनाउने अपेक्षा गरिएको निर्माण पक्षले जनाएको छ। ‘कुम्भ’ आगामी जेठ १५ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको छ।



